काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आजको प्रतिनिधि सभा सदस्यको मनोनयन दर्ता प्रक्रियालाई सामान्य निर्वाचन नभई ‘जनमत संग्रह’का रूपमा व्याख्या गरेका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा यो निर्वाचन हिंसाको विरुद्ध शान्ति, अराजकताको विरुद्ध अनुशासन र विध्वंसको विरुद्ध निर्माणको स्पष्ट छनोट भएको उल्लेख गरेका छन् । उनले संविधान र लोकतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्ध जनताले मतमार्फत आफ्नो धारणा अभिव्यक्त गर्ने अवसरका रूपमा निर्वाचनलाई चित्रण गरेका हुन् ।
‘यो निर्वाचन सामान्य निर्वाचन होइन, जनमत संग्रह हो,’ उनले सन्देशमा उल्लेख गरेका छन्, ‘संविधान र लोकतन्त्रका पक्षमा तथा प्रतिगमनविरुद्धको जनमत संग्रह हो ।’
महासचिव पोखरेलले नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षड्यन्त्रहरू परास्त गर्न निर्वाचनलाई साझा संकल्पको अवसरका रूपमा लिन आग्रह गरेका छन् । उनले देशको सार्वभौमिकता, स्थिरता र लोकतान्त्रिक यात्राको रक्षा गर्न सचेत र जिम्मेवार भूमिका निर्वाह गर्न आम नागरिकलाई आह्वान गरेका छन् ।
एमाले नेतृत्वले निर्वाचनलाई केवल सत्ता परिवर्तनको प्रक्रियाभन्दा पनि राष्ट्रिय दिशा निर्धारण गर्ने निर्णायक मोडका रूपमा व्याख्या गर्दै आएको सन्दर्भमा महासचिव पोखरेलको यो सन्देशलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।


