काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी बनाउन राजनीतिक दल तथा उम्मेदवारका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताअनुसार उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैंक वा वित्तीय संस्थामा खोलिएको छुट्टै खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ ।
उक्त प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि आयोगले नेपाल राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिन आग्रह गरेको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगका अनुसार उम्मेदवारले निर्वाचन खर्च गर्दा आफ्ना तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्नेछ । सो पदाधिकारीको नाम, थर र विवरण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । राजनीतिक दलले पनि निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत मात्र खर्च गर्नुपर्नेछ ।
त्यस्तै, २५ हजार रुपैयाँभन्दा बढीको आर्थिक सहयोग बैंक वा वित्तीय संस्थामार्फत मात्रै लिनुपर्ने र व्यक्ति वा संस्थाबाट स्वैच्छिक सहयोगस्वरूप नगद प्राप्त भएमा त्यसको रसिद वा भर्पाई दिई सम्बन्धित दल वा उम्मेदवारको बैंक खातामा जम्मा गर्नुपर्ने प्रावधान रहेको आयोगले स्पष्ट गरेको छ ।
प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसका आधारमा राजनीतिक दलका लागि एउटा र प्रत्येक उम्मेदवारका लागि अलग–अलग बैंक खाता खोल्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरिएको आयोगले जनाएको छ । ती खाता आम निर्वाचन सम्पन्न भई आयोगबाट बन्द गर्न निर्णय नहुन्जेलसम्म सञ्चालनमा रहनेछन् ।
यस व्यवस्थाले निर्वाचन अभियानको आम्दानी तथा खर्चलाई पारदर्शी बनाउँदै अनियमितता नियन्त्रणमा सहयोग पुग्ने आयोगको विश्वास छ ।


