२६ जेष्ठ २०८३, मंगलबार 1781065877
Banner

राष्ट्रियसभा सदस्यका लागि मतदान जारी

काठमाडौँ । राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने पदका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ।

फागुन २० देखि रिक्त हुन लागेका १८ पदमध्ये एक पदमा नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी १७ पदका लागि देशभर मतदान भइरहेको छ।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर, मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका–४ (धनुषा) र बागमती प्रदेशका लागि भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर) मा मतदान भइरहेको छ।

त्यसैगरी गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा (कास्की), लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र, घोराही (दाङ), कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी (कैलाली) मा मतदान भइरहेको आयोगले जनाएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाताका रूपमा सहभागी छन्।