स्थानीय निर्वाचनमा गठबन्धन र महागठबन्धन बनाउँदा पनि अनपेक्षित रूपमा नेकपा एमालेले लोकप्रिय मतमा नेपाली कांग्रेसलाई उछिनेपछि बुर्जुवा खेमामा मात्र होइन माझण्डहरूको पनि मथिंङ्गल तातेको छ। त्यसको संकेत संसदमा मन्त्री दिलेन्द्र बडुदेखि लिएर नेका महामन्त्री तथा सांसद गगन थापा र सांसद डा. मिनेन्द्र रिजाल अनि प्रचण्डका पछिल्ला अभिव्यक्तिहरूले देखाएका छन्। नेकपा एमाले कमजोर बनाउन केपी ओलीलाई कमजोर बनाउनु पर्छभन्ने मान्यताबाट निर्देशित भएर ओलीका विरूद्ध गतिविधिॆहरू भइरहेकै छन्। बुर्जुवा धारका मिडियाहरूले त नेकपा कालदेखि नै केपी ओलीका विरूद्ध आफ्नो प्रभाव र क्षमता प्रयोग गरिरहेकै थिए। अहिले त्यो प्रभाव र क्षमता प्रयोग गर्न खोज्नु कुनै अनौठो कुरो भएन। संसदमा प्रतिपक्षी दलको नेताको नाताले केपी ओली जसरी प्रस्तुत भए त्यसबाट सत्ता घटक दलका नेताहरू आत्तिएर अभिव्यक्ति दिएको देखिन्छ किनभने आफू बलियो भएर केपी ओलीलाई कमजोर देखाउनुभन्दा उनीहरू केपी ओलीलाई कमजोर बनाएर आफू बलियो भएको देखाउन खोज्दैछन्।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जितपछि सत्ताधारी दलका नेताहरू खासगरी प्रचण्ड र माधव नेपालले बालेन र उनको टिमलाई आफ्नो दलको नजिक ल्याउने मनासयका साथ अभिव्यक्ति दिन थालेका छन्। उनीहरूले बालेन साहलाई आफ्नो पक्षमा ल्याएर युवा जनमतलाई पनि प्रभावित पार्ने उद्देश्य लिएको देखिन्छ। त्यो कति सम्भव अहिले यसै भन्न सकिन्न। तर बालेन साहलाई काठमाडौंको मेयर बनाउनका लागि पर्दा पछाडिबाट राजवादी पूर्व प्रशासकदेखि लिएर ठूला सञ्चार गृह लागेको बालेनका पक्षमा आएका पछिल्ला ट्विटदेखि मिडियामा आएका समाचार, टिप्पणी र विश्लेषणहरूबाट अनुमान लगाउन सकिन्छ।
बालेनको जितमा काठमाडौंमा मात्र होइन, अमेरिकामा पनि खुसी मनाइएको समाचार आएको छ। यो खुसीको समाचारका पछाडि सामान्य स्वार्थमात्र छैन् भन्ने कुराको हेक्का हामीमा हुनुपर्छ।
पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौंमा लोकतान्त्रिक गणतन्त्रका विरूद्धमा जनमत बढाउन चाहन्छन्। बालेन साहको जितलाई उनले अवसर बनाउन खोजेका छन्। दरबार हत्याकाण्ड २०५८ जेठ १९ भन्दा पछि जन्मेको र हुर्केको युवा पुस्ताको मनलाई विभिन्न प्रभाव, प्रलोभन र भ्रममा पारेर दलहरूका विरूद्धमा लगाउने प्रयास गरिरहेका छन्। किनभने युवा जनमत तत्कालिन अवस्थालाई हेरेर धारणा बनाउँछभने सहरीया जनमत अवसरवादी भएर आफ्नो व्यक्तिगत लाभहानी हेरेर प्रतिक्रिया दिन्छ। बालेन साहको जित त्यसकै प्रतिफल हो। नेपालको राजनैतिक तथा संवैधानिक व्यवस्थाप्रति बालेन साहहरूको धारणा के हो ? उनीहरूको जितलाई लिएर राजतन्त्रवादीहरू किन उत्साहित भइरहेका छन् ? सुमन सायमी कसरी एकाएक बालेनका पक्षमा सक्रिय हुन थाले ? यी तिन प्रश्नको उत्तर नमिल्दासम्म बालेन साहको असली रूप थाहा पाउन सकिन्न।
स्थानीय निर्वाचन सकियो, निजगढ विमानस्थल बन्न नदिने आदेश आयो र २०७९र८०को लागि नीति तथा कार्यक्रम संसदबाट बहुमतले पास गरियो। तर त्यहाँ लोकतान्त्रिक गणतन्त्र, सम्वृद्ध नेपाल सुखी नेपालीको नारा अनि राष्ट्रिय स्वाभिमान र अर्थतन्त्र बलियो बनाउने दृष्टिकोणलाई भारतको स्वार्थमा पछाडि पारियो। यसको नेतृत्व शेरबहादुर देउवाको अगुवाइमा बनेको सत्ता कम्फर्टेबल गठबन्धनले गरिरहेको छ। त्यसैले गठबन्धनलाई परास्त गर्ने लोकतान्त्रिक गणतन्त्र पक्षीय प्रगतिशील राजनीति देशले खोजेको छ।
जनअपेक्षा, जनतामा देखिएको वितृष्णा र असन्तुष्टीहरूलाई व्यावहारिक रूपमा सम्बोधन गर्नका लागि गणतान्त्रिक पुस्ताका लागि नयाँ शिक्षा किन भन्ने प्रश्नमा केन्द्रीत हुनुपर्छ। अनि लोकतान्त्रिक गणतन्त्र जनमुखी र देशमुखी बनाउने आधारहरू भेटिनेछन्। हर्क राई र बालेन साहरूलाई अनावश्यक रूपमा हाई-हाई गरेर समय खेर नफाली विगतका कमीकमजोरीहरू सुधार्दै जनपक्षीय भएर क्रियाशील हुन थाल्नुपर्छ। लोकतान्त्रिक गणतन्त्रले दिएको अधिकार र सुविधा उपयोग गरेर लोकतान्त्रिक गणतन्त्रको विपक्षमा महौल तयार बनाउन चाहनेहरूको रणनीति असफल पार्नुपर्छ१ अनि मात्रै नेपालमा लोकतान्त्रिक गणतन्त्र व्यावहारिक रूपमा सफल बनाउन सकिने छ। अन्यथा जनताका अपेक्षाहरूको उपेक्षा हुँदा व्यवस्था विरोधीहरूले त्यो उपेक्षालाई प्रयोग गरेर राजनैतिक तथा संवैधानिक व्यवस्थामाथि प्रश्न उठाउने मुद्दा बनाउने छन्।
जनचासोहरूको विधिवत र न्यायिक सम्बोधन हुने प्रणालीहरू स्थापित गर्न जेठ १५ लाई गणतन्त्र दिवसका रूपमा मनाउँदै गर्दा हामी सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरूले समस्यामा केन्द्रीत भएर बहस गर्नुपर्ने भएको छ। तर दुखका साथ भन्नुपर्छ, २०६२र६३ जनआन्दोलनका सहयात्री दलहरू यतिखेर एकआपसमा अस्वस्थ प्रतिस्पर्धा गरेर लोकतन्त्र विरोधी राजनीतिको भूमिका बढाउने काम गरिरहेका छन्। त्यसैले त अहिले उनीहरू लोकतान्त्रिक गणतन्त्रमा उपलब्ध अधिकार र सविधा उपयोग गरेर लोकतान्त्रिक गणतन्त्र कै विपक्षमा राजनीतिक माहौल बनाउन सहज महसुस गर्दैछन्। ठाउँ विशेष हेरेर उनीहरूले आफ्नो भूमिका बेग्लै तरिकाबाट अघि बढाउन खोजेका छन्। परिणाममा उनीहरू कमजोर देखिएतापनि रणनीतिक रूपमा उनीहरूको लोकप्रिय मत र जित बढेको छ। केपी ओलीलाई कमजोर देखाउन खोज्दा दमक नगरपालिकाको मेयर पदमा राजावादी राम थापा चुनिएभने काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह।
लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रणाली जनपक्षीय बनाउँदै गतिशील बनाउन लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरू स्वस्थ प्रतिस्पर्धा गर्न र एकले अर्काको अस्तित्व स्विकार गर्दै सहकार्य गरेर अघि बढ्न तयार हुनुपर्छ। लोकतन्त्रको सुन्दरता भनेकै विवादका बीचमा पनि सम्वाद, विविधताबीच एकता र स्वस्थ प्रतिस्पर्धाबीच सहकार्य गर्ने असल संस्कृति हो। विगतमा त्यो संस्कृति नेतृत्वले देखाउन सकेको थियो। तर २०७४ सालको संघ र प्रदेशको निर्वाचनमा केपी ओलीको नेतृत्वमा वामपन्थी सरकार बनेपछि त्यो संस्कृति कमजोर बनाउँदै ‘विभाजन र शासन’ को नीति अख्तियार गरेर परमादेशमार्फत जनादेशलाई विस्थापित गरियो। केन्द्रीय सत्तामा केपी ओलीको पुनरागमन नहोस् भनेर वामपन्थीको झण्डा बोकेका माझण्डहरू नै शेरबहादुर देउवाको नेतृत्वमा संघ र प्रदेशको चुनावमा गठबन्धन बनाएर जाने निष्कर्ष सुनाउँदैछन्। प्रचण्ड भन्छन्, “देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम(लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प हो।”
वैचारिक मुल्यमान्यता र आदर्शमा नजिक भएका दलहरू मिलेर गठबन्धन बन्नु र सत्ताका लागि सहकार्य हुनु अनौठो होइन। तर विचारविनाको सामुहिकतामा शक्तिभन्दा स्वार्थहरू बढी हावी हुँदा प्रचण्ड हिजोआज जितमा पनि हारको मनोविज्ञानबाट निर्देशित भइरहेका छन्। गठबन्धन गरेर स्थानीय निर्वाचनमा प्राप्त गरेको जित उपयोग गर्दै प्रदेश र संघको निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न प्रचण्डले बार्गेनिङ थालेको उनको अभिव्यक्तिले संकेत गरेको छ। नेपाली कांग्रेसले भोलिका दिनमा संस्थागत कस्तो निर्णय गर्छ भन्ने कुराले प्रचण्डको बार्गेनिङ क्षमताको ठीक मापन हुनेछ। त्यसैले अहिले नै निष्कर्षमा पुगेर धारणा बनाउनु परिपक्वता हुनेछैन्।
नेपाली कांग्रेसका नेता तथा विश्लेषक पुरञ्जन आचार्य भन्छन्, प्रचण्डको व्यवस्थापनमै देशको महत्त्वपूर्ण पन्ध्र वर्ष खेर गयो। आफ्नो व्यक्तिगत राजनीतिक लाभका लागि प्रचण्डले कहिले कांग्रेस त कहिले एमाले हुँदै अहिले फेरि कांग्रेसलाई उपयोग गरिरहेका छन्। प्रचण्डले एकलौटी सत्ता प्राप्तिका लागि एमालेसँग मिलेका थिए, त्यो पूरा नभएपछि केपी ओलीको विपक्षमा उभिएर शेरबहादुर देउवालाई उपयोग गरिरहेका छन्। देउवालाई तर्साएर आफ्नो पक्षमा राजनीतिक माहौल बनाउने र बार्गेनिङ शक्ति बढाउने रणनीतिमा प्रचण्ड देखिन्छन्। प्रचण्डको उपयोगितावादले जसरी भएतापनि सत्ता सुख उपभोग गर्ने नीति लिंदा लोकतान्त्रिक गणतन्त्र विरोधीहरूको मनोबल बढेर देशमा नियन्त्रित अस्थिरता चाहनेहरूको हस्तक्षेप बढ्न खोजेको छ। त्यसको पछिल्लो प्रमाण निजगढ विमानस्थल बन्न नदिने सर्वोच्च अदालतको फैसला हो। त्यसैले लोकतान्त्रिक गणतन्त्र जनपक्षीय बनाउँदै सम्वृद्ध नेपाल सुखी नेपाली बनाउन प्रचण्डको उपयोगितावादी नीतिलाई पनि विस्थापित गर्न सक्नुपर्छ। त्यसैले भन्ने गरिन्छ, शिक्षा धर्मभित्रको अन्धकार हटाउने माध्यम बन्नुपर्छ। धर्म शिक्षाभित्रको खराबी हटाउने आधार हुनुपर्छ। राजनीति, शिक्षा र धर्मभित्रको समस्या अन्त्य गर्ने् आदर्श बन्नुपर्छ जसले लोकतान्त्रिक गणतन्त्रप्रति जनविश्वास बढाउनेछ।