मुगु । माघ १० गते राति परेको भारी हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्लाको भुलभुलेदेखि घुच्चिलेख, सात मोड हुँदै झाडनाउलासम्मको सडक खण्ड अवरुद्ध बनेको थियो । हिउँ जमेर सडक पूर्ण रूपमा बन्द भएपछि सवारी आवागमन ठप्प भएको थियो ।
सडक डिभिजन कार्यालय जुम्लाको पहलमा माघ ११ र १२ गते जेसीबी मेसिन प्रयोग गरी सडकमा जमेको हिउँ हटाइएपछि कर्णाली राजमार्ग उक्त खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
सडक सुचारु भएसँगै जुम्ला–मुगु आवतजावत सहज बनेको छ भने यात्रु तथा स्थानीयवासीले राहत महसुस गरेका छन् । यसअघि हिमपातका कारण अलपत्र परेका सवारी साधनहरू समेत गन्तव्यतर्फ लागेका छन् ।


