सिन्धुली । नेकपा (एमाले)का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोजजंग थापाले राजनीति केवल भाषण र बाचामा सीमित नहुने बताउँदै जनताको दैनिक जीवनमा देखिने परिवर्तन नै वास्तविक राजनीति भएको उल्लेख गरेका छन् । कमलामाई नगरपालिकामा स्थानीय जनसमुदायसँग प्रत्यक्ष भेटघाट र संवाद गर्दै थापाले सिन्धुली क्षेत्र नं. २ को समावेशी विकास आफ्नो मुख्य एजेण्डा रहेको बताए ।
उनले ग्रामीण सडकको स्तरोन्नति, कृषिमा आधुनिकीकरण, बजार पहुँच विस्तार र युवालाई सीपमूलक तालिममार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने योजनामा निरन्तर लाग्ने प्रतिबद्धता जनाए । ‘सिन्धुली विकासको सम्भावनाले भरिएको जिल्ला हो, आवश्यकता केवल योजनाबद्ध कार्यान्वयनको हो’ उनले भने । भेटघाटका क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, रोजगारी र युवा पलायनजस्ता विषयमा ध्यानाकर्षण गराएका थिए ।
थापाले ती विषयलाई प्राथमिकतामा राखेर समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय बासिन्दाले लामो समयदेखि आधारभूत पूर्वाधारको अभाव, स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता र कृषिमा उचित मूल्य नपाउनुजस्ता समस्याहरू उठाएका थिए । जवाफमा थापाले संघीय संसदमा पुग्ने बित्तिकै नीति निर्माण तहबाटै यी समस्याको समाधानका लागि पहल गर्ने बताए ।
युवाहरूले रोजगारी र शिक्षा क्षेत्रमा स्पष्ट योजना माग्दा थापाले प्राविधिक शिक्षा, स्थानीय उद्योग प्रवर्द्धन र पर्यटन विकासमार्फत रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गरे । थापाले स्थानीय तह, प्रदेश र संघीय सरकारबिच समन्वय गर्दै विकास परियोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘युवाले आफ्नै गाउँमा भविष्य देख्न सक्ने वातावरण बनाउनु मेरो दायित्व हो’, उनले भने ।
थापाले महिलाको आर्थिक सशक्तीकरण, सहकारीमार्फत उद्यमशीलता प्रवर्द्धन र स्वास्थ्य सेवामा पहुँच बढाउने विषयलाई पनि प्राथमिकतामा राख्ने बताए । ‘महिला सशक्तीकरण बिना समाजको समग्र विकास सम्भव छैन’ उनले जोड दिए । स्थानीय ज्येष्ठ नागरिक र समाजसेवीहरूले थापाको सरल, पहुँचयोग्य र व्यवहारिक नेतृत्व शैलीको प्रशंसा गर्दै यसपटक परिवर्तनको पक्षमा मतदान गर्ने स्पष्ट जनाएका छन् । थापाले आफूलाई मत मात्र होइन, सुझाव, आलोचना र मार्गदर्शन गर्न पनि आग्रह गरे ।


