माघ १५ गते । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा यस पटक गहिरो प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ चुनावी प्रक्रियामा अभ्यस्त नेतादेखि नयाँ योजना बोकेर पहिलो पटक संसदीय चुनावी प्रतितस्पर्धाका लागि निस्किनुभएका पुस्ताबिच गहिरो प्रतिस्पर्धा हुने देखिएको छ ।
मकवानपुर–१ मा यस पटक कुल २३ जनाले उम्मेदवारी दिनुभएको छ । तीमध्ये नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीका उम्मेदवारहरू मुख्य प्रतिस्पर्धामा देखिनुभएको छ ।
यहाँबाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तेजप्रसाद उप्रेती, जसपाका दीपक सिन्तान, नेकपा (माओवादी) का महेश नेपाली, मङ्गोल नेसनल अर्गनाइजेसनका युवराज लामा, नेपाल मजदुर किसान पार्टीकी रञ्जना सुवाल मगजु, जसपा नेपालका रूपक लामा, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ महर्जन र उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामा र स्वतन्त्रले पनि उम्मेदवारी दिनुभएको छ ।
मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंह, कांग्रेसका महालक्ष्मी उपाध्याय (डिना), एमालेका रामेश्वर राना र रास्वपाका प्रकाश गौतमलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ । कांग्रेसका उम्मेदवार डिनाले यसअघि पनि चार पटक प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यको चुनावमा हार बेहोर्नुभएको छ । उहाँका लागि आगामी निर्वाचन पाँचौँ चुनावी परीक्षा हुने छ । कांग्रेसका डिना दुई पटक समानुपातिक सांसद र दोस्रो विशेष महाधिवेशनअघि पार्टी सहमहामन्त्री भइसक्नुभएको छ ।
२०७९ मा भएको पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएकी डिना उपाध्याय राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुनुभयो । उहाँले सो बेला २५ हजार ४३४ मत प्राप्त गर्नुभएको थियो । आउँदो निर्वाचनमा सिंह र डिनाबिच फेरि पनि गहिरो प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । डिना भन्नुहुन्छ, “मकवानपुरमा मेरा लागि राजनीति कर्म थलो हो । विशेषतः यहाँका युवा, महिला र जनजाति समुदायलाई प्रभावित पार्न सक्ने विकासका एजेन्डा बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिएको छु । यस पटक पार्टी एकताले मेरो जितलाई सुनिश्चित बनाएको छ ।” राप्रपाका सिंहले सो निर्वाचनमा अघिल्लो पटक गठबन्धनका प्रतिस्पर्धी डिनालाई दुई हजार ३८२ मतसहित पछि पार्नुभएको थियो ।
सो बेला मकवानपुरमा सिंहले कुल २७ हजार ८१६ मत प्राप्त गरी मकवानपुर–१ बाट विजयी हुनुभयो । पञ्चायत कालदेखि नै नगर पञ्चायत र जिल्ला विकास समितिको महìवपूर्ण जिम्मेवारीमा रहनुभएका सिंह स्थानीय माझ परिचित हुनुहुन्छ । नेकपा (एमाले) बाट झन्डै पाँच दशक लामो राजनीति गरेका गर्नुभएका नेता रामेश्वर राना यस पटक संसद् छिर्ने दौडमा रहनुभएको छ । अघिल्लो पटक निर्वाचन लड्ने अन्तिम तयारीमा पुग्नुभएका रानाले गठबन्धनका कारण आफ्नो पक्कापक्की टिकटलाई राप्रपाका दीपकबहादुर सिंहलाई सुम्पिनु परेको थियो । अन्तिम समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा नेता राना पछाडि हट्नु परेको थियो । यस पटक पुरानो घाउलाई मलम लगाउन रानाले पार्टीबाट टिकट आफ्नो हात पार्दै उम्मेदवारी दर्ता गराउनुभएको छ । २०३६ देखि सक्रिय राजनीतिमा जोडिएका राना सङ्गठनका त्यागी नेताका रूपमा परिचित हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रमा समेत बलियो पकड बनाउनुभएका राना भन्नुहुन्छ, “राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा एमालेले गरेको छ । विकास र समृद्धिको बाटोमा एमाले हिँडेको छ । एमालेले बहुमत ल्याउनु मुलुकको आवश्यकता रहेको छ । हामी सबै प्रतिस्पर्धीसँग स्वस्थ प्रतिस्पर्धा गर्छौं, निष्पक्ष जित निकाल्छौँ ।”
त्यसै गरी मकवानपुर–१ मा नेकपाका उम्मेदवार विजय गौतम पहिलो पटक संसदीय निर्वाचन प्रक्रियामा सहभागी हुनुभएको छ । यसअघि नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहँदा प्रमुख स्वकीय सचिवको जिम्मेवारी निभाउनुका गौतमले टिकट हात पार्दा जिल्लाका केही नेताबिच असन्तुष्टि देखिएको थियो । गौतमले आफू युवा उम्मेदवार रहेको र युवा नेतृत्वप्रति बढेको लहरका आधारमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आइरहनुभएको छ ।
मकवानपुरका–१ का अर्का उम्मेदवार प्रकाश गौतमलाई पनि यहाँका नागरिकले बलियो प्रतिस्पर्धीका रूपमा हेरिरहेका छन् । पछिल्लो समय देशमा रास्वपाप्रति बढेको आकर्षणले त्यसको प्रभाव जिल्लामा पनि छाएको छ । यसअघि रास्वपा मकवानपुरका उपसभापतिसमेत रहनुभएका गौतमले यसअघि सङ्गठन विस्तारमा ठुलो भूमिका खेल्नुभएको छ । होटेल व्यवसायीसमेत रहनुभएका गौतमका लागि भने संसदीय निर्वाचन नौलो रहेको छ । आफू युवा उम्मेदवार भएको र रास्वपामाथि बढेको लहरले गौतम पनि नतिजा आफ्नो पोल्टामा पर्नेमा विश्वस्त देखिनुहुन्छ ।
निर्वाचन क्षेत्र नम्बर–१ मा आगामी निर्वाचनका लागि २३ जनाको उम्मेदवारी परेको छ । तीमध्ये १३ जना विभिन्न राजनीतिक दलका उम्मेदवार हुनुहुन्छ भने १० जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । यस क्षेत्रभित्र हेटौँडा उपमहानगरपालिकाका १५ वटा वडा, मकवानपुरगढी गाउँपालिकाका चार वटा वडा तथा बागमती र बकैया गाउँपालिकाका क्षेत्र पर्छन् । मकवानपुर जिल्लामा कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेकोमा यस निर्वाचन क्षेत्रमा मात्र एक लाख ५८ हजार ४३५ मतदाता रहनुभएको छ ।


