काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आशंकामा थप नौ जनासँग स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार शनिबारसम्म २१ वटा स्पष्टीकरण सोधिएकोमा आइतबार र सोमबार थप नौ जनासँग स्पष्टीकरण माग गरिएको हो ।
आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट झापाको निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार बालेन्द्र शाहलाई दोस्रोपटक स्पष्टीकरण सोधेको जनाएको छ । सादा पोसाकका प्रहरी बालेन्द्र शाहलाई भोट माग्दै हिँडेको देखिने श्रव्यदृश्य सामग्री प्राप्त भएपछि दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगको भनाइ छ ।
शाहको चुनावी प्रचारप्रसारका क्रममा उनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा के–कस्तो अवस्था थियो भन्नेबारे आयोगले स्पष्टिकरण मागेको हो ।


