३ कार्तिक २०८१, शनिबार 1729397270
कृषि

घर गोठ बोटविरुवाको मुआब्जा छिट्टै निर्धारण हुने

बुढीगण्डकी डुबान क्षेत्रका घर गोठ र बोटबिरुवाको मुआब्जा छिट्टै निर्धारण हुने भएको छ । ह्रासकट्टी सम्बन्धी समस्या समाधान भएसँगै अब भने मुआब्जा निर्धारणको लागि बाटो खुलेको बुढीगण्डकी आयोजनाको वातावारण मुआब्जा वितरण पुर्नबास तथा पुनःस्थापना इकाईले जनाएको छ । ‘

अब छिट्टै दुबै जिल्लाका मुआब्जा निर्धारण समितिसँग छलफल हुन्छ,’ इकाई प्रमुख कृष्णबहादुर कार्कीले भन्नुभयो,‘मुआब्जा निर्धारण गर्ने काम मुआब्जा निर्धारण समितिको हो । हामी उहाँहरुलाई सहजीकरण गछौं ।’ प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिलाई मुल्य तोक्ने अधिकारी प्रत्यायोजन गरिएको छ । तर दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको भने प्रतिक्रिया आएको छैन ।

कोरोनाले समस्या नभए यही माघ भित्र दुबै मुआब्जा निर्धारण गर्ने गरी उक्त समितिसँग छलफल गर्ने तयारी गरिएको ईकाई प्रमुख कार्कीले जानकारी दिनुभयो । गोरखा र धादिङ अन्र्तगत डुबान क्षेत्रमा पर्ने सबै ठाउँको घर, गोठ, बोटविरुवा, फलफुल र अन्य मानविय संरचनाको लगत संकलनको काम सम्पन्न भइसकेको छ ।

२४ हजार पाँच सय ५५ भौतिक संरचनालाई क्षतिपूर्ती दिइनु पर्ने सर्वेक्षणले देदाएको छ । यसैगरी तीन लाख ६२ हजार पाँच सय ६३ संंख्यामा बोटबिरुवा र चार लाख ६३ हजार एक सय ४९ फलफूल डुबानमा पर्ने आयोजना कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

फलफूल तर्फ आँप, निबुवा, सुन्तला, केरा, भुइँकटहर, अम्बा, लिची, भोगटे, निमपत्ता, जाइफल, तेजपत्ता, अमल लगायत ३० प्रजाति विरुवालाई पनि मुआब्जा दिनु पर्ने देखिएको छ । साल, साज, हर्राे, उत्तीस, सल्ला, चिलाउने लगायत ४९ प्रजाति बोटविरुवाले समेत मुआब्जा रकम पाउने भएका छन् । भौतिक संरचना, बोटबिरुवा तथा फलफूल सबै गरी कुल आठ लाख ५० हजार दुई सय ६७ लाई मुआब्जा दिनु पर्ने अबस्था रहेको आयोजना इकाई प्रमुख कार्कीले बताउनुभयो ।

परार्मशदाता फ्रान्सको ट्याकवल कम्पनीको प्रारम्भिक प्रतिवेदन अनुसार गोरखा तर्फ ३१ हजार नौ सय र धादिङ तर्फ ३५ हजार दुुई सय सात गरी कुल ५७ हजार एक सय सात रोपनी जमिन डुबानमा पर्ने देखिन्छ । १२ सय मेगावटको बुढीगण्डकी आयोजना निर्माण हुँदा दुबै जिल्लामा गरी तीन हजार पाँच सय ६० घर पूर्ण रुपमा बिस्तापित हुने छन् ।

जसमध्ये गोरखा तर्फ एक हजार पाँच सय ५९ घर बिस्तापित हुने प्रतिवेदनमा उल्लेख छ । आर्थिक रुपमा भने चार हजार पाँच सय ५७ घर प्रभावित हुने बताइएको छ । आयोजनाको डुबान क्षेत्रमा पाँच वटा संरक्षित सहित तीन सय ८१ प्रजातीका विरुवा पाइने उल्लेख छ । आयोजना निर्माण गर्दा ६२ वटा सामुदायिक सहित कबुलियती र निजि गरी ठूलो वन क्षेत्र पनि डुबानमा पर्ने देखिन्छ ।

चालु आर्थिक वर्षमा विनियोजन भएको सात अर्ब ८५ करोड रुपैयाँ मार्फत घर गोठ र बोटविरुवाको मुआब्जा वितरण गर्ने आयोजना कार्यालयको तयारी छ । जग्गाको मुआब्जा वितरणमा भने अहिलेसम्म दुबै जिल्लामा गरी ३४ अर्ब छ करोड ३९ रुपैयाँ खर्च भइसकेको छ । गोरखा र धादिङको सिमानामा पर्ने बुढीगण्डकी नदीमा राष्ट्रिय गौरबको बुढीगण्डकी आयोजना निर्माण गर्ने सरकारको योजना छ । १२ सय मेगावाटको जलासययुक्त उक्त आयोजना निर्माणको चर्चा चलेको लामो समय भइसक्दा पनि अहिलेसम्म मोडालिटी समेत तय हुन सकेको छैन । मुआब्जा वितरण गरिएपनि आयोजना निर्माणको काम अहिलेसम्म सुरु हुन नसक्दा प्रभावित भने अन्यौलमा परेका छन् ।