२७ भदौ २०८३, शनिबार 1789228432
Banner

मुस्ताङको बागवानी फार्ममा स्याउ ‘टिप्ने खाने’ मेला

मुस्ताङ। यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ ‘टिप्ने खाने’ मेला आयोजना गरिएको छ । यहाँ असोज एक गतेदेखि एक हप्ताका लागि मेला आयोजना गरिएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।

कृषि र पर्यटन प्रवर्द्धनका लागि केन्द्रले बगैँचामा पसेर स्याउ टिप्ने खाने मेला आयोजना गरेको उनले बताए। यहाँ गत वर्ष पनि यस्तै मेला आयोजना गरिएको थियो ।  असोज महिनाको पर्यटकीय यामलाई मध्यनजर गरी बर्सेनि यसप्रकारको स्याउ टिप्ने खाने मेला उत्सव सञ्चालन गर्न थालिएएको केन्द्र प्रमुख आत्रेयले बताए। “मुक्तिनाथको दर्शन तथा कागबेनीधाममा धार्मिक कर्म गर्न आउने भक्तजन तथा मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी यो मेला आयोजना गरिएको हो”, उनले भने, “यसपटक देशमा उत्पन्न विषम परिस्थितिका कारण पर्यटकको आगमन कम भएकाले विगतमा जस्तो रौनक छैन ।”

यहाँ स्याउ बगैँचामा केन्द्रले तोकेको नियमअनुसार पर्यटकले स्याउ टिप्ने र खाने सुविधा छ । त्यसका लागि  पर्यटकले रु दुई सयको टिकट लिएपछि बगैँचामा जान पाइन्छ । विशेष सावधानी अपनाएर स्याउ टिप्नु पर्ने र बोटमा कुनै क्षति भएमा सम्बन्धित व्यक्तिले रु एक हजार जरिवाना तिर्नुपर्ने नियम तोकिएको केन्द्र प्रमुख आत्रेयले जानकारी दिए ।