धनकुटा । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं धनकुटाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेन्द्र राईले देश जलाउने र देश जोगाउने शक्ति चिनेर भोट हाल्न मतदाताहरूलाई आग्रह गरेका छन् ।
धनकुटाको भीरगाउँमा शुक्रबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले यस्तो बताएका हुन् ।
एमालेले देशको विकास र जनताको मुहारमा खुशी ल्याउन धेरै काम गरेको उदाहरण दिँदै उनले एमालेलाई देश जोगाउने र विकासलाई गति दिने शक्तिको रुपमा चित्रण गरे ।
भदौ २४ मा देशभर विध्वंस मच्चाइँदा ठूलो जनधनको क्षति भएको स्मरण गर्दै उनले देश जलाउने यस्ता शक्तिलाई जनताले चिन्नुपर्ने धारणा राखे ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार तारा तितुङ, एमाले धनकुटाका उपाध्यक्ष चिन्तन तामाङ, एमाले नेता चन्द्रलाल तामाङ र टिकाराम मगरले मुलुकलाई सही मार्गमा अघि बढाउन ‘सूर्य’ चिन्हमा मतदानका लागि सबैलाई आग्रह गरेका छन् ।
यसैबीच, प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एमालेले शुक्रबारबाट धनकुटा नगर क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो अभियान सुरु गरेको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेन्द्र राई र समानुपातिक उम्मेदवार मनकुमारी तितुङसहितको टोलीले धनकुटा नगरक्षेत्रमा घरदैलो थालेको हो ।
धनकुटाका सात पालिकामध्ये चौबिसे गाउँपालिका, साँगुरीगढी गाउँपालिका, पाख्रीवास नगरपालिका, छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकामा मतदाता भेटघाट सकेर टोली धनकुटा नगरक्षेत्र प्रवेश गरेको हो । धनकुटा नगरको पहिलो दिन शुक्रबार वडा नं.१ को हिले र वडा नं.२ को भीरगाउँमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरिएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।
हिले बजारमा भएको घरदैलो कार्यक्रममा स्वतःस्फूर्त रुपमा ठूलो संख्यामा एमाले नेता कार्यकर्ताहरू सहभागि भएका थिए । झण्डा र ब्यानरसहित सहभागि नेता कार्यकर्ताहरूले बजारमा एमाले गीतमा नृत्य गर्दै माहोल तताएका थिए ।
आज शनिबार वडा नं.३ को कागते, पात्ले, सेउले र वडा नं.४ को दानावारी क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम छ ।


