काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक रूपमा सम्पन्न गर्न सबै मतदातालाई अनिवार्य रूपमा सहभागी हुन अपिल गरेकी छन्।

आज देशबासीका नाममा सम्बोधन गर्दै उनले निर्वाचनलाई देशको राजनीतिक स्थायित्व र समृद्धिको आधारका रूपमा व्याख्या गर्दै “भोट हाल्नु भनेको आफ्नो र सन्तानको भविष्य तय गर्नु” भएको बताएकी छिन् । प्रधानमन्त्रीले जेन–जी आन्दोलनपछिको जटिल र संवेदनशील अवस्थाबाट देशलाई शान्तिपूर्ण निकासतर्फ डोर्याउँदै संविधानको मार्गमा फर्काउन सरकार सफल भएको दाबी गरिन्। विधिको शासन स्थापित गर्दै अहिले देश स्थायित्वतर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले त्यसमा नागरिकको संयम र सहकार्यको भूमिका महत्वपूर्ण रहेको बताइन्।
निर्वाचनको सन्दर्भमा उनले सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवार तथा समर्थकहरूलाई संयमित र सम्मानजनक ढंगले प्रचार–प्रसार गर्न आग्रह गरिन्। मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न पनि उनले आह्वान गरिन्। निर्वाचन आयोग, सुरक्षा निकाय तथा राष्ट्रसेवक कर्मचारीको निष्पक्षता र मेहनतप्रति आभार व्यक्त गर्दै सरकारले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन पूर्ण तयारी गरेको स्पष्ट पारिन्।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत फैलाइने तथ्यहीन र भ्रामक सामग्रीप्रति सचेत रहन नागरिकलाई आग्रह गर्दै त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने चेतावनी पनि दिइन्। मुलुकमा दण्डहीनता सैह्य नहुने र कानुनअनुसार कारबाही गर्न सरकार पछि नहट्ने उनको भनाइ थियो।
होली ९फागु पूर्णिमा० को अवसरमा देश–विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले उत्सव मनाउँदा संयम अपनाउन र कसैको इच्छाविपरीत रङ नलगाउन अनुरोध गरिन्।
त्यसैगरी, मध्यपूर्वमा बढ्दो तनाव र इरान आसपासको परिस्थितिप्रति सरकार सतर्क रहेको जनाउँदै त्यहाँ रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखिएको बताइन्। परराष्ट्र मन्त्रालयमार्फत नियोगहरूलाई सक्रिय बनाइएको र आवश्यक सहजीकरण भइरहेको जानकारी दिइन्।


