काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यसपटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम हासिल नभएको बताएका छन् । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र यसलाई शिरोधार्य गर्नु आफू र पार्टीको कर्तव्य भएको उनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले जनताको मतलाई आफूले पूर्ण सम्मानका साथ स्वीकार गरेको जनाएका छन् । “निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । तर, जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन,” उनले लेखेका छन् ।
उनले आफूहरू जनताकै बीचमा रहने बताएा छन् । “जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ,” उनले भनेका छन् ।
उनले आफू र पार्टीलाई मत, साथ दिने र विश्वास राख्ने सबैमा धन्यवाद व्यक्त गरेका छन् ।
“यस कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु,” लेखेका छन्, “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो । तपाईंहरूको साथ नै हाम्रो ताकत हो ।”


