चैत २ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण विभिन्न स्थामा हावाहुरी, मेघगर्जनसहित चट्याङ परेको बताएको छ ।
महाशाखाकाअनुसार अहिले काठमाडौँ उपत्यकामा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । यो प्रणाली पूर्वतिर सर्दै गएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यसैगरी, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्ष र हिमपात भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ ।
सोमबार राति कोशी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा र बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान र बुधबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।


