१७ बैशाख २०८३, बिहिबार 1777584080
Banner

कांग्रेस सभापति गगन थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन् ।

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको पराजय भएपछि नैतिक जिम्मेवारी लिँदै थपाले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएको स्रोतले बताएको छ । राजीनामा भने सार्वजनिक गरिएको छैन । थापाले उपसभापति शर्मालाई राजीनामा बुझाएसँगै त्यसबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक समेत बोलाइएको छ ।

निर्वाचनको प्रारम्भिक नतिजा आएसँगै राजीनामाको मनस्थिति बनाएका थापालाई केन्द्रीय पदाधिकारीलगायत उच्च नेताहरुले राजीनामा नदिन सुझाव दिँदै आएका थिए ।

सभापति थापा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको ठूलो हारसँगै आफू पनि सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित भएका थिए ।

यो हारसँगै कांग्रेसकै एउटा समूहले थापालाई राजीनामा दिन सार्वजनिक रुपमै चर्को दबाब दिँदै आएको थियो ।

गत पुसमा काठमाडौँमा भएको कांग्रेसको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।