१८ असार २०८३, बिहिबार 1782971842
Banner

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा थप कागजात झिकाउन आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रविको मुद्दा फिर्ताविरूद्ध युवराज पौडेल सफलसहितले हालेको रिटमा महान्यायाधिवक्ताको कार्यालयका नाममा यस्तो आदेश दिएको हो।

इजलासले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीको लिखित जवाफमा उल्लेख गरिएको अभियोगपत्र संशोधनसम्बन्धी ‘त्रुटि सच्याइएको’ भनिएको गत माघ २ गतेको टिप्पणी आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयबाट पेश नभएको भन्दै उक्त कागजात झिकाउन निर्देशन दिएको छ।

यसका साथै उक्त टिप्पणी आदेशसँग सम्बन्धित अन्य प्रमाणहरू समेत झिकाई यसअघि गत माघ २७ गते भएको आदेशअनुसार मुद्दाको थप प्रक्रिया अगाडि बढाउन भनिएको छ।

इजलासले उक्त मुद्दा तथा सम्बन्धित अन्य मुद्दाहरू समेत सँगै राखी आगामी चैत ९ गते हेर्न नमिल्ने न्यायाधीशरहित इजलाससमक्ष पेश गर्न पनि आदेश दिएको छ।