१४ आश्विन २०८३, बुधबार 5:31 am
Banner

मुक्तिनाथ क्षेत्रमा भारी हिमपात

मुस्ताङ । मुक्तिनाथ क्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ। आज अपराह्न ४ बजेदेखि मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो। मुस्ताङमा कात्तिक १० गतेयता हालसम्म छैटौँपटक हिमपात भएको हो।

वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ क्षेत्रका निरन्तर रूपमा भारी मात्रामा हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। हिमपातसँगै मुक्तिनाथ मन्दिर क्षेत्र आसपासका डाँडाकाँडा हिउँले सेताम्मे भइसकेको व्यवस्थापक भुसालले बताए।

हिमपातका कारण चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवन प्रभावित भएको व्यवस्थापक भुसालको भनाइ छ।

त्यसैगरी, मुक्तिनाथ क्षेत्रको मुक्तिनाथ, रानीपौवा, झारकोट, खिङ्गा, छेङ्गुर, पुडाक र झोङलगायतका स्थानमा बाक्लो हिमपात स्थानीयले बताएका छन् ।

त्यसैगरी, माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि दिउँसोदेखि हिमपात भइरहेको छ ।

त्यस्तै, मुस्ताङका तल्लो क्षेत्र थासाङ गाउँपालिका र घरपझोङ गाउँपालिका क्षेत्रका उच्चलेकमा आंशिक हिमपात भइरहेको र बस्ती क्षेत्रमा दिउँसोदेखि निरन्तर वर्षा भइरहेको जनाइएको छ।