१० आश्विन २०८३, शनिबार 1790430286
Banner

भ्रष्टाचार रोक्न नसके रास्वपा पनि इतिहास बन्नेछ : पुन

काठमाडौं : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भ्रष्टाचार नियन्त्रणको मुद्दामा कडा चेतावनी दिएका छन् । पुनले यदि रास्वपाले भ्रष्टाचार रोक्न प्रभावकारी कदम चाल्न सकेन भने यो पार्टी पनि कालान्तरमा इतिहासमा सीमित हुने टिप्पणी गरेका छन्

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले आगामी सरकारले कार्यभार सम्हालेको पहिलो दिनदेखि नै भ्रष्टाचारीहरू विरुद्ध आक्रामक रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘रास्वपाको नेतृत्वमा बन्ने वा सहभागी हुने सरकारले कानुनी प्रक्रिया पुर्‍याएर भ्रष्टाचारीहरूलाई कहिल्यै उठ्न नसक्ने गरी कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

पुनले विद्यमान ऐन-नियमहरू भ्रष्टाचार नियन्त्रणमा बाधक देखिएमा तत्काल नयाँ नियमहरू बनाएर भए पनि सुशासनको प्रत्याभूति दिलाउन सुझाव दिएका छन् । सुशासन कायम गर्न नसके जनताले ठूलो धोका महसुस गर्ने र त्यसको परिणाम स्वरूप रास्वपाको राजनीतिक भविष्य नै समाप्त हुन सक्ने उनको ठम्याइ छ ।