राजविराज, चैत ११ गते । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै बुधबार चैती छठ पर्व श्रद्धा र भक्तिपूर्वक सम्पन्न भएको छ । पारिवारिक सुख, शान्ति र दीर्घायुको कामनासहित मनाइने यो पर्वको धार्मिक महत्व उस्तै रहे पनि राजविराजस्थित भगवती पोखरीको फोहोर पानीले भने यस पटक ब्रतालुहरूलाई असहज बनाएको छ ।

छठ पर्व वर्षमा दुई पटक कात्तिक र चैत महिनामा मनाइन्छ । विधि, आस्था र परम्परा दुवै छठमा समान भए पनि कात्तिकमा मनाइने छठजस्तो उत्साह, सहभागिता र व्यवस्थापन चैती छठमा भने न्यून देखिएको स्थानीयले बताएका छन् ।
राजविराज नगरपालिका –९ निवासी निर्मलीवालीले चार दशकभन्दा बढी समयदेखि छठ मनाउँदै आउनुभएको छ । भारत बिहार राज्य निर्मलीस्थित माइती भएको उहाँ विवाहपछि यता आएदेखि निरन्तर छठ गर्दैआउनु भएका हुन् । “पहिला यहाँ छठ मनाउने मानिस निकै कम थिए” उहाँले विगत सम्झिँदै भन्नुभयो, “अहिले विस्तारै बढ्दै गएको छ, तर कात्तिकको जस्तो रौनक छैन ।”
स्थानीय सन्तोष यादवका अनुसार चैती छठ मनाउनेहरूको संख्या विगतभन्दा बढ्दै गएको भए पनि सहभागिता अझै सीमित छ । “कात्तिकमाजस्तो भीडभाड र उत्साह चैती छठमा देखिँदैन” उहाँले भन्नुभयो ।
छठ पर्व मनाउन पोखरी, नदी, तलाउ वा नहरजस्ता जलाशय अनिवार्य मानिन्छ । कात्तिक महिनाको छठअघि यस्ता स्थलहरूमा व्यापक सरसफाइ र सजावट गरिने गरिन्छ । तर यसपटक भगवती पोखरीमा भने सरसफाइतर्फ कसैको ध्यान नगएको ब्रतालु पुनम दासले गुनासो गर्नुभयो । “पोखरी यति फोहोर छकि पानी छुन पनि मन लाग्दैन” स्थानीय राजकुमार दासले भन्नुभयो, “तर बाध्य भएर यही पानीमा पसेर सूर्यलाई अर्घ अर्पण गर्नुप¥यो ।”
स्थानीय अजयकुमार झाकाअनुसार कात्तिक छठको अवसरमा एक साता अघिदेखि नै विभिन्न संघ संस्था, सुरक्षा निकाय र नगरपालिका पोखरीसहित जलाशयहरु सरसफाइ अभियानमा सक्रिय हुने गर्दछन् । “तर चैती छठका लागि त्यस्तो कुनै तयारी वा सक्रियता देखिएन” उहाँले भन्नुभयो ।
कात्तिक र चैतमा मनाउने छठको धार्मिक आस्था उस्तै रहे पनि व्यवस्थापनको अभावका कारण फोहोर पानीमै छठ मनाउनुपरेको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
जिल्लाको भगवती पोखरी, खैरसाल पोखरी, कल्टुदास पोखरी लगायत जलाशयमा पाँच–दश परिवारहरुले चैती छठ मनाएका छन् । चार दिने चैती छठको अन्तिम दिन बुधबार उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी सम्पन्न भएको छ । चैती छठलाई बासन्ती छठ पनि भनिन्छ ।
यस छठ पर्वमा चामल र गहुँको पिठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, पञ्चफल, उखु, केरा, नरिवल, कागती, हरियो तरकारी, हल्दी, अदुवा, सुथनी लगायतको पूजा सामग्रीहरू अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घको रूपमा चढाउने गरिन्छ ।
छठको पहिलो दिन नहाइ ख्वाइ, दोस्रो दिन खरना बिधि सकेर तेस्रो दिन अस्ताउँदो र अन्तिम अर्थात् चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुने गरेको छ ।


