३० बैशाख २०८३, बुधबार 1778733988
Banner

आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने सिस्टम बनाइन्छ : गृहमन्त्री गुरुङ

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले प्रहरी हेड्क्वार्टरको निरीक्षण गरेका छन् । सोमबार बिहान मन्त्री गुरुङले नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षण र सम्बोधन गरेका हुन् । प्रहरी प्रधान कार्यालयको अडिटोरियम हलमा प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आईजीपीलाई प्रधानमन्त्रीबाट दर्ज्यानी चिह्न लगाउने सिस्टम बनाइने बताए । उनले भने, ‘नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने सिस्टम हामी बनाउँछौँ ।’ प्रहरीको पोसाक नेपालमै उत्पादन गर्नेगरी राज्यको तर्फबाट काम गर्ने उद्घोष गर्दै गृहमन्त्री गुरुङले नेपालमा उत्पादन गरिने पोसाक स्तरीय बनाइने घोषणा गरेका छन् ।

प्रहरी कर्मचारीको सरुवा र बढुवा अनुमानयोग्य बनाउने दाबी गर्दै उनले भने, ‘कामको आधारमा सरुवा र बढुवा यकिन गरिन्छ ।’ आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफूबाट प्रहरी कर्मचारीमाथि कुनै पनि अनावश्यक दबाब नहुने गुरुङले विश्वास दिलाए । गृहमन्त्री गुरुङले भने, ‘प्रहरी संगठन र आईजीपीलाई बलियो बनाउने काम गरिन्छ ।’ सड्कमा भीआईजी सवारी हुँदा जनताले दुःख पाउने अहिलेको परम्परा खारेज गर्ने उद्घोष गर्दै मन्त्री गुरुङले भने, ‘म हिँडदा वा कुनै पनि मन्त्री हिँडदा सडकमा प्राथमिकता दिनु पर्दैन ।’