९ जेष्ठ २०८३, शनिबार 1779552214
Banner

१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज मनाईर्दै

काठमाडौं : ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी आज नेपालसहित विश्वभर १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।

दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकलगायत सम्बन्धित अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा देशैभर विभिन्न कार्यक्रम आयोजना गरेको छ।

फ्रान्सको पेरिसमा सन् १८८९ मा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताहरूको सम्मेलनको निर्णय गरेअनुरूप सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइँदै आइएको छ।

मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चि तताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएका छन्।

वैशाख १८ गते । धादिङकी मीनाले काठमाडौँमा आएर घरेलु श्रमिकका रूपमा काम गर्न थालेको सात वर्ष भयो । एउटै घरमा घरभित्रको सरसफाइदेखि बुढाबुढीको स्याहारसुसार गर्दै आएकी मीनालाई गत वर्ष सुन चोरीको दोष लगाएर तीन महिनाको पारिश्रमिकबिना नै निकालियो ।

त्यो घरका परिवारले खाएका जुठा भाँडा माझ्ने, ट्वाइलेट सफा, जुत्तामोजा धुनेदेखि घर सरसफाइ गर्दै आएकी मीनाले साप्ताहिक बिदाको माग गरेपछि चोरदोष लगाएर तीन महिनाको पारिश्रमिक नदिई कामबाट निकालिएको थियो । मीनाले घर मालिकको ज्यादतीविरुद्ध श्रम तथा रोजगार कार्यालय टेकुमा उजुरी गर्नुभयो ।

उक्त श्रम कार्यालयले मीनाको उजुरीको सुनुवाइ गर्दै घर मालिकबाट तीन महिना बराबरको लिन बाँकी पारिश्रमिक, सात वर्षसम्म साप्ताहिक बिदामा काम लगाएकोसमेत जोडेर क्षतिपूर्ति रकम भराइयो । मीना त एउटा प्रतिनिधिमूलक पात्र मात्रै हुनुहुन्छ । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा मीना जस्ताका ४५० वटा उजुरी सो कार्यालयमा दर्ता भएका छन् ।

कार्यालयका अनुसार आएकामध्ये आधा बढी फस्र्योट भएका छन् । सो कार्यालयका प्रमुख उदयकुमार गुप्ताले कार्यालयमा आउने उजुरीमध्ये अधिकांश औपचारिक क्षेत्रमा काम गर्ने प्रष्ठिानविरुद्धका रहेको र अनौपचारिक क्षेत्रका असाध्यै कम आउने गरेको जानकारी दिनुुभयो । उहाँका अनुसार चालु आवको नौ महिनामा आएका उजुरीको सुनुवाइ गर्दै करिब पाँच करोड बराबरको रकम श्रमिकलाई दिलाउन सफल भएका छौँ । उक्त रकम श्रमिक, रोजगारदाताबिच छलफल गराएर सहमतिमा वा सहमति हुन नसकेका उजुरीमा कार्यालयले दुवै पक्षलाई अन्याय नहुने गरी निर्णय गर्ने गरेको छ । 

उजुरी गर्ने क्रम बढ्दो 

औपचारिक तथा अनौपचारिक क्षेत्रमा श्रमिकले न्यूनतम पारिश्रमिक नपाएको भन्दै उजुरी गर्ने क्रम बढेको छ । श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतका श्रम तथा रोजगार कार्यालयमा पछिल्लो समयमा रोजगारदातासँग भएको सम्झौता अनुसार पारिश्रमिक, साप्ताहिक बिदा नदिएको र सामाजिक सुरक्षा कोषमा आबद्ध नगरेको भन्दै उजुरी गर्ने श्रमिकको सङ्ख्या बढेको हो ।

विभागका अनुसार चालु आव २०८२/८३ को चैतसम्म ७५२ वटा उजुरी परेका छन् । यो सङ्ख्या विभाग अन्र्तगत देशभर रहेका ११ वटा श्रम तथा रोजगार कार्यालयमा परेका उजुरीको सङ्ख्या हो । जसमा सबैभन्दा धेरै काठमाडौँको टेकुमा रहेको श्रम कार्यालयमा ४५० वटा उजुरी परेका छन् । जबकि आव २०८१/८२ मा ७७३ वटा उजुरी परेका थिए भने आव २०८०/८१ मा ६६८ वटा र आव २०७९/८० मा ६४७ वटा उजुरी परेका थिए । 

विभागका महानिर्देशक चक्रपाणि पाण्डेले पछिल्ला वर्षमा सम्झौता अनुसार पारिश्रमिक, साप्ताहिक बिदा नपाएको, सामाजिक सुरक्षामा नलगेको भन्ने उजुरी धेरै पर्ने गरेको बताउनुुभयो । उहाँले बिनाकारण कामबाट निकाल्ने, काममा विभेद गर्ने, जथाभाबी सरुवा गर्नेलगायतका उजुरी आउने गरे पनि अधिकांश उजुरी न्यूनतम पारिश्रमिक नपाएकासम्बन्धी नै रहेको बताउनुुभयो । सरकारले गएको साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपियाँ तोकेको छ । योसँगै श्रम ऐन, २०७४ मा श्रमिकले बिदा र सामाजिक सुरक्षा पाउनुपर्ने अनिवार्य व्यवस्था छ । 

वैशाख १८ गते ।विश्व मजदुर दिवस मनाइरहँदा सप्तरीका दैनिक ज्यालादारी मजदुर भने काम नपाएर छाक टार्ने चिन्तामा परेका छन् ।

सप्तरीको रुपनी गाउँपालिका–निवासी ५२ वर्षीय सोमनाथ यादव नियमितझैँ शुक्रबार बिहान मजदुरीको खोजीमा राजविराजस्थित मजदुर हटियामा पुग्नुभयो ।

उहाँसँगै राजविराज–९ का कैलु सदा पनि कामको आशामा बिहानैदेखि गजेन्द्र चोकमा पर्खिरहनुभयो । तर दिउँसोसम्म पनि काम नपाएपछि दुवैजना रित्तै घर फर्किन बाध्य हुनुभयो ।“आज घरमा चामल कसरी लैजाने, के खाने भन्ने चिन्ता छ,” कैलुले आँखाभरि आँसु पार्दै भन्नुभयो ।

राजविराजको गजेन्द्र चोक आसपासमा दैनिक लाग्ने मजदुर हटियामा सोमनाथ र कैलुजस्तै सयौँ मजदुर बिहानदेखि कामको प्रतीक्षामा बस्ने गरेका छन् ।

तर अधिकांशले नियमित काम पाउन नसक्दा जीवनयापन कठिन बन्दै गएको छ ।स्थानीय व्यवसायी थानसिंह भन्सालीका अनुसार यहाँ भेला हुनेमध्ये करिब ७५ प्रतिशत मजदुर दैनिक काम नपाएर खाली हात घर फर्किन्छन् ।

 सामान्य निर्माण, सरसफाइ तथा कृषि कार्यका लागि मजदुर खोज्न आउनेहरू यहीँबाट कामदार लैजाने गर्छन् ।मजदुर श्यामसुन्दर खंगका अनुसार काम पाए दिनभरि काम गरेर सातदेखि आठ सय रुपियाँसम्म आम्दानी हुने गरेको छ । 

“महिनामा करिब १० दिन मात्र काम पाइन्छ, बाँकी दिन खाली बस्नुपर्छ,” उहाँले भन्नुभयो ।दैनिक १५० देखि २०० मजदुरसम्म भेला हुने यस स्थानमा काम पाएको दिन परिवारका लागि खाद्यान्न जुटाउन सहज हुने भए पनि काम नपाएको दिन भोकै बस्नुपर्ने अवस्था आउने गरेको मजदुर अजय सदाले बताउनुभयो ।

जिल्लामा उद्योग, कलकारखाना र रोजगारीका अवसरको अभावका कारण मजदुरहरू असुरक्षित र अनिश्चित श्रममा निर्भर रहन बाध्य छन् ।

उनीहरूका अनुसार श्रमिक अधिकार र दिवसका औपचारिक कार्यक्रमभन्दा पनि नियमित काम पाउनु नै सबैभन्दा ठूलो खुशी हो।मजदुरहरू भन्छन्, “हामीलाई मजदुर दिवस होइन, काम पाइने दिन नै वास्तविक उत्सव हो ।”