स्थानीय तहको निर्वाचनमा बाम विग्रहको फाइदा उठाएर नेपाली काङ्ग्रेसले बढी सीट आफ्नो पोल्टामा पार्यो । उसले पुलस्त्याइँमा पारङ्गत प्रचण्ड र एमाले छोडेर नेपाली काङ्ग्रेसलाई मनचिन्ते झोली बनाएका माधव नेपालका कारण नै काङ्ग्रेसले यो स्तरको शक्ति प्राप्त गरेको हो । आफूलाई वामपन्थी भनिरहने तर सेवाचाहिँ दक्षिणपन्थी शक्तिको गर्ने माधव(प्रचण्डकै क्याम्पबाट आज वाम एकताको डम्फू बजाउन थालिएको छ ।
इमान्दारीपूर्वक भन्दा वाम एकताको विषय राम्रो विषय हो । विभिन्निएका देशका सबै कम्युनिष्ट शक्ति एक ठाउँमा आउँदा देशमा लामो समयसम्म एक छत्र शासन व्यवस्था कायम हुने र त्यहींबाट मात्र समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुने पक्का छ । विचारको जगमा हुने एकतालाई कसैले नकार्न सक्दैन ।
संविधानसभाबाट संविधान बनेपछि भएको प्रथम आम निर्वाचनमा बनेको वाम गठबन्धनलाई जनताले ठूलो आशाको नजरले हेरेका थिए । लामो समयसम्म सामन्ती राजतन्त्र र काङ्ग्रेसले जर्जर बनाएको देशलाई कम्युनिष्टले सम्हालेर अघि बढाउन सक्छन् भन्ने आम विश्वास थियो । तर प्रचण्ड र माधव नेपालको पदीय आकाङ्क्षाको हुटहुटीले कम्युनिष्ट ध्रुवीकरणले सार्थकता पाउन सकेन । एमालेसंग एकता गरेको दिनदेखि नै प्रचण्ड एमाले कब्जा गर्ने ध्याउन्नमा लागे भने प्रचण्डको वैशाकी टेकेर माधव नेपाल सत्तारोहणको सपनामा रमाउन थाले । उनीहरूको अर्जुनदृष्टि नै नेपालको बाम आन्दोलनका शिखर पुरूष लोकप्रिय नेता के पी शर्मा ओलीको तेजोबध गर्ने, आफ्नै नेतृत्वको सरकारको ऊछित्तो काढ्ने, पार्टीलाई एक पाइलो पनि अघि बढ्न नदिने काम भयो ।
वाम एकता र पछि भएको पार्टी एकीकरणले क्षणिक फाइदाजस्तो देखिए पनि दीर्घकालिन रूपमा बाम आन्दोलनलाई नकारात्मक असर पुग्यो । तीनै तहको सरकारको नेतृत्व भएर पनि पार्टीले केही गर्न नसक्ने अवस्था पैदा भयो । आपसी छिनाझपटीको कारण पार्टीले तीन वर्षसम्म कुनै काम गर्न सकेन । त्यसको सबभन्दा ठूलो असर एमालेलाई पर्यो । त्यसबाट नेपाली काङ्ग्रेसले अनपेक्षित फाइदा लियो ।
अघिल्लो आम निर्वाचनमा भएको वाम एकताको कारण एमालेको मत पाएर सांसद र मन्त्री बनेका धेरै माओवादी नेताहरूलाई अर्को आम निर्वाचन आउनै लाग्दा मन भत्भती पोलेको हुँदो हो । प्रचण्डलाई पनि हिजो एमालेजनहरूले जसरी काङ्ग्रेसीहरूले भोट नखन्याइदेलान् कि भन्ने छटपटी शुरू भएको होला । लामो समय एमालेका ब्राण्ड बनेका माधव र झलनाथलाई अर्को अलोकप्रिय ब्राण्ड बोकेर जनतामा जाँदा ह्वार्लाङ्ङ होइएला भन्ने पिर परेकै होला । एमालेकै कमरेड घनश्याम भुसालजस्ता नेतालाई हिजो आफ्नो पार्टीको मूल नेतृत्वविरूद्ध बोलेका कुवाच्य र गरेका कुकर्मको कारण जनताको तारोमा परिएला कि भन्ने डर त छँदैछ ।
यिनै केही वाम शक्ति र पात्र हुन् जसले वाम एकताको दुन्दुभि बजाइरहेछन् । संगसंगै उनीहरूले भन्दैछन्(वाम एकताको लागि ओलीले आत्मालोचना गर्नुपर्छ वा राजिनामा दिनुपर्छ !
तर हाल वाम एकताको डम्फू बजाउनेलाई थाहा छैन, अहिले नेपालमा कथम् कदाचित् वाम एकता भइहाले देशको सबभन्दा ठूलो कम्युनिष्ट शक्ति नेकपा (एमाले) को नेतृत्वमा हुने हो । के पी शर्मा ओलीको नेतृत्वमा हुने हो । चितवन महाधिवेशनबाट छ महिना अघिमात्र अत्यधिक मतले एमालेको अध्यक्ष बनेका ओलीलाई पन्छाएर वा होच्याएर एमालेसंग वाम एकताको कुरा गर्नु सोम शर्माको सपनाजस्तो मात्र हुनेछ ।
जहाँसम्म आत्मा आलोचनाको कुरा छ, जो जो हिजो वाम आन्दोलनलाई कमजोर बनाउने र प्रतिक्रियावादी शक्तिलाई मलजल गर्ने दुश्कर्ममा लागे, उनीहरूले वाम मतदाताका सामू माफी माग्नु पर्दछ । देशको क्षेत्रफल बढाउने, छोटो समयमा देशको कायापलटको योजना कार्यान्वयन गर्ने, छिमेकी ुदाईुहरूसंग नझुक्ने के पी शर्मा ओलीलाई कथित १९ बुँदे आरोप लगाउनेहरूले आरोप फिर्ता लिनुपर्छ । आत्मा आलोचना गर्नुपर्छ । आफ्नो अतृप्त पदीय चाहना पूरा गर्न फालिने वाम एकताको तुरुपको कुनै अर्थ र औचित्य छैन ।
अनि अकारण एमालेजस्तो आमूल परिवर्तनकारी पार्टीलाई घात गरेर काङ्ग्रेसको सेवा गर्न हुँइकिने नेताहरूले सार्वजनिक रूपमा गल्ती महसुस गर्नुपर्छ । आज एमालेसंग वाम एकताको इच्छा राख्ने वाम शक्ति र नेताहरूले ढिलो चाँडो बुझ्लान्– एमाले आफ्नै तागतमा राष्ट्रिय नेतृत्वदायी शक्ति बन्ने अभियानमा छ, कसैको वैशाकीमा होइन ।