काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले दिने कार्यसूची छ । अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थपबारे जानकारी गराउने सम्भावित कार्यसूची छ ।

बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।
तर, आज पनि बैठक कार्यसूचीमा प्रवेश गर्छ अथवा गर्दैन निश्चित छैन । प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध पार्दै आएका छन् ।
संसद्को गतिरोध अन्त्य गर्ने विषयमा दलहरूबीच सहमति नजुट्दा बैठक सञ्चालन हुन सकेको छैन ।


