२५ बैशाख २०८३, शुक्रबार 1778256804
Banner

प्रलोपाबाट बाहिरिए डा. बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)सँगको औपचारिक संलग्नताबाट अलग भएका छन्।

उनले अब स्वतन्त्र रूपमा रही वैकल्पिक तथा रूपान्तरणमुखी राजनीतिक धारलाई सहयोग गर्ने उद्देश्य राखेको पार्टीलाई जानकारी गराएका छन्।

यस सम्बन्धमा बिहीबार बसेको पार्टी अध्यक्ष परिषद् बैठकले डा. भट्टराईको व्यक्तिगत निर्णयलाई स्वीकार गर्दै उनको आगामी यात्राप्रति शुभकामना व्यक्त गरेको छ।

बैठकको निर्णयमा उल्लेख गरिएअनुसार भट्टराई यसअघि पार्टीका संरक्षकका रूपमा रहेका थिए। उनले कुनै पनि संगठनात्मक जिम्मेवारी नलिई स्वतन्त्र रूपमा राजनीतिक गतिविधि अघि बढाउने चाहना व्यक्त गरेपछि सो निर्णयलाई सम्मान गर्दै पार्टीले सहमति जनाएको हो।

पार्टीले उनको स्वतन्त्र रहने निर्णयलाई वैयक्तिक छनोटका रूपमा स्वीकार गर्दै भविष्यका गतिविधिका लागि शुभकामना दिएको छ।

यसैगरी, पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले पार्टी सदस्यता नै नरहने गरी सार्वजनिक अभिव्यक्ति दिएको प्रसंगमा पनि बैठकमा छलफल भएको थियो। सो सन्दर्भमा उनको आगामी व्यक्तिगत तथा राजनीतिक यात्राप्रति समेत शुभकामना दिने निर्णय गरिएको छ।

बैठकले समसामयिक राजनीतिक अवस्था र गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै वर्तमान राजनीतिक संरचना तथा राज्य व्यवस्थाले मजदुर, श्रमिक तथा उत्पीडित समुदायको हितमा पर्याप्त रूपमा काम नगरेको निष्कर्ष निकालेको छ।