२३ जेष्ठ २०८३, शनिबार 1780797095
पर्यटन

पर्यटनमा जोडियो मह सिकार

 वैशाख ३० गते । कहालीलाग्दो भिर । माथि हेर्दा टोपी खस्ने छङ्गाछुर ठाडो भिर अनि भिरका कापामा लहरै रहेका भिरमौरीका गोला । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४, मिप्रागाउँको छिप्ली भिरको पहरालगायत जिल्लाका विभिन्न स्थानमा भिरमौरीका गोलाबाट मह काढ्न स्थानीय मह सिकारीको होडबाजी नै चल्छ । कहालीलाग्दो भिरमा डोरीको सहारामा झुन्डिएर गरिने यस्तो मह सिकारको दृश्य देख्ने जोकोहीले साँच्चिकै चाखका साथ हेर्ने गरेको पाइन्छ । पछिल्लो समय यस्तो डरलादो दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन् । 

यसरी गरिन्छ सिकार

मह सिकार गर्नुपूर्व भिरमौरी रहेको पहराको सिरानमा वनदेवताको पूजा गर्ने परम्परा छ । पूजाको काम सकिएपछि मध्याह्नतिर लुठा (बाबियोको डोरीमा काठको डन्डी बाँधेर बनाइएको भ¥याङ) सहितको डोरी, टाँगा र डालो लिएर मह सिकारी जङ्गलको पहरातिर लाग्छन् । मौरी रहेको भिरको किनारमा एक समूहले चिसो र काँचो स्याउला बालेर धुवाँको मुस्लो निकाल्छन् । अनि भिरका चट्टानमा रहेका दर्जनौँ गोलाका लाखौँ भिरमौरी गोलै छाडेर भुनभुनाउन थाल्छन् । आफ्नो टाउकैवरिपरि अरिङ्गाल जत्रा मौरी भुनभुनाउँदा पनि न सिकारी आत्तिन्छन् न त सहयोग गर्न पुगेका गाउँले नै ।

त्यत्रो छङ्गाछुर भिरमा लुठा गाँसेको एक सय हात लामो डोरी मौरीको गोलामै ठोस्सिने गरी झुन्ड्याइन्छ, अनि त्यसैमा अडिएर सिकार खेल्न थाल्छन् मह सिकारी । मह सिकारीलाई केही मौरीले घेर्नुका साथै चिल्न पनि थाल्छन् । भुइँमा बस्ने र सिकार गरेको हेर्नेको मुटु काँपे पनि सिकारी भने कत्ति विचलित नभई मौरीको चाकामाथि टाँगाको निसाना लगाइराख्छन् । पहराको सिरानमा रुख र खम्बा गाडेर डोरी बाँधिन्छ । दुई वटा डोरीमा लुठा गाँसिन्छ र डोरी झारिन्छ । डोरीको भ¥याङमा सिरान, बिच र पुछारमा गरी तीन जना मह सिकारी रहन्छन् । 

काँचो स्याउलाको धुवाँले अत्तालिएर मौरी भाग्न थालेपछि डोरीको भ¥याङको पुछारमा रहने सिकारीले डोरीमा झुन्ड्याइएको डालोलाई निगालोको टाँगाले मौरीको चाकानजिक लैजान्छन् र बिचमा रहेका सिकारीले चाकालाई धारिलो टाँगाले काट्न थाल्छन् । सिरानमा रहेका अर्का सिकारीले डालोमा झरेको चाका तानेर लैजाने गर्छन् । मह सिकारमा दिनभर यस्तै प्रकारको प्रक्रिया चलिरहन्छ । तीन खण्डमा रहने मौरीको चाकामा सिरानमा मह, बिचमा मौरीको दिसा र पुछारमा बच्चा रहने मह सिकारी टेकबहादुर गुरुङले बताउनुभयो । गुरुङका अनुसार पहिला बच्चा र दिसा भएको भाग दाबिलोले घोचेर माथि लगिन्छ अनि बल्ल मह काढ्न सुरु हुन्छ । अनकन्टार भिरमा डोरीको भ¥याङमा हल्लिरहेका मह सिकारीलाई फेदमा बसेका अन्य सहयोगीले इसारा गर्ने गर्छन् । इसाराका लागि डोरी हल्लाउने र ‘कोइतेव कोइतेव’ (घोच घोच), ‘तोचन तोचन’ (माथि लैजाउ) भनेर इसारा गर्ने र सिकारी पनि सोही अनुसार काम गर्ने स्थानीय प्रदीप गुरुङले बताउनुभयो । 

पर्यटक आकर्षण

विश्वमा नै बिरलै हुने यस प्रकारको मह सिकार लमजुङको कहालीलाग्दो भिरपहरामा अत्यन्तै मसुर मह सिकारीले गर्दै आएका छन् । लमजुङको घनपोखरा, सिउरुङ, ताघ्रिङ, भुजुङ, दुधपोखरी, बन्सार, ढोडेनीलगायतका स्थानमा बर्सैपिच्छे भिरमौरीको सिकार गरिन्छ । ‘हनी हन्टिङ’ अर्थात् मह सिकार आजभोलि पर्यटकका लागि नौलो र आकर्षणको विषय बन्दै गएको छ । मह सिकार गर्ने प्रचलन धेरै पुरानो रहे पनि पर्यटक आकर्षणका लागि ‘हनी हन्टिङ फेस्टिबल’ का रूपमा पहिलो पटक २०६३ सालमा लमजुङको ताघ्रिङस्थित काप्रेभिरमा गरिएको थियो । त्यसपछि धेरै गाउँमा पर्यटक आकर्षणका रूपमा मह सिकार हुने गरेका छन् । आङै सिरिङ्ङ हुने भिरमा निडर मह सिकारीले मह काढेको अत्यन्तै रमणीय दृश्य कहिल्यै नदेखेकाका लागि अविस्मरणीय र रोचक हुने गरेको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।   

गण्डकी, ५ जेठ : वैशाख–जेठ भिरमौरीको मह सिकारका लागि उत्तम याम मानिन्छ । यतिबेला गण्डकी प्रदेशका पहाडी जिल्लामा मह सिकार भइरहेको छ । अक्करे भिरमा जोखिम मोलेर सिकारीहरू भिरमौरीको मह सिकार गर्न व्यस्त छन् । मह काढ्ने पितापुर्खाको सीपलाई उनीहरूले जीवन्त तुल्याएका छन् । पछिल्लो सयम मह सिकार पर्यटनको पनि हस्सा बन्न थालेको छ । साहसिक मह सिकार हेर्न मानिसहरू लालयित हुने गरेका छन् । पर्यटक आकर्षित गर्न कतिपय ठाउँमा मह सिकार महोत्सव नै आयोजना गर्ने गरिएको छ । बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीको रमुवामा गत शनिबारदेखि मह सिकार सुरु भएको स्थानीय सरस्वती युवा क्लबका अध्यक्ष यम बुढाले बताउनुभयो । क्लबको आयोजनामा सोमबार मह सिकार उत्सव गरिएको उहाँको भनाइ छ । मह सिकार अवलोकनमा ठूलो सङ्ख्यामा मानिसहरू रमुवा पुगेका थिए । गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरसहित विशिष्ट पाहुना मह सिकार उत्सवमा सहभागी भएको अध्यक्ष बुढाले बताउनुभयो । “आउँदो बिहीबारसम्म रमुवामा मह सिकार हुन्छ, यस याममा एक हजार ५ ०० देखि दुई हजार लिटरसम्म मह सिकार हुने अनुमान गरिएको छ”, अध्यक्ष बुढाले भन्नुभयो, “मह सिकार उत्सवले यसको महत्त्व झनै बढेर गएको छ, मह सिकार हेर्न र महको स्वाद लिन मानिसहरूको भीड लाग्ने गरेको छ ।” क्लबले मह सिकारबाट भएको आम्दानी सामाजिक काममा खर्च गर्दै आएको छ । महको आम्दानी स्थानीयवासीले पनि बाँडफाँट गर्ने गरेका छन् । भिरमौरीको मह प्रतिकिलो रु दुई हजारमा बिक्री हुँदै आएको अध्यक्ष बुढाले बताउनुभयो । मह सिकार उत्सवमा खेल र सांस्कृतिक गतिविधि पनि जोडिएको थियो । रमुवाका भिरमा प्रशस्त भिरमौरी पाइने गलकोट–१० का पूर्ववडाध्यक्ष तिलक घर्तीले बताउनुभयो । स्थानीयवासीले पुस्तौँदेखि मह सिकार गर्दै आएको उहाँको भनाइ छ । रैथाने र सीप प्रविधिलाई अपनाउँदै भिमकाय भिरमा मह सिकार गरिने भएकाले मानिसहरू त्यसको अवलोकनका लागि आकर्षित भएको उहाँले बताउनुभयो । पछिल्लो समय मह सिकारलाई उत्सवका रुपमा लिन थालिएको छ । मह सिकारलाई साहसिक पर्यटनसँग जोड्न सकेमा ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने देखिन्छ । क्लबले वडा कार्यालयसँगको सहकार्यमा बर्सेनि मह सिकार उत्सव आयोजना गर्दै आएको हो । बागलुङको ताराखोला गाउँपालिका–५ स्थित जुल्फे सामुदायिक वनको मारोभिरमा पनि सोमबारदेखि मह सिकार सुरु भएको छ । सोमबार झन्डै ६० लिटर मह सिकार गरिएको वन उपभोक्ता समितिका सचिव नारायण घर्तीले बताउनुभयो । सोही वडाको ठूलोभिर सामुदायिक वनमा केही दिनपछि मह सिकार गरिने उहाँको भनाइ छ । “यसपालि हिउँदमा वर्षा धेरै भएकाले मह कम उत्पादन भएको छ”, सचिव घर्तीले भन्नुभयो, “वर्षा हुँदा मौरी चर्न जान पाउँदैन, आफैँले बनाएको मह खाएर बस्छ ।” लामो खडेरी पर्दा भिरमौरीको मह बढी उत्पादन हुने गरेको उहाँको भनाइ छ । भिरमौरीको मह सिकार गर्नु आफैँमा जोखिमयुक्त काम भएको उहाँले बताउनुभयो । सिकारीहरूले पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारका लागि भिरमा जाने गर्छन् । सिकार गर्नुअघि पितृ र प्रकृतिलाई पुकार्ने चलन छ । सिकारका बेला कुनै अप्रिय घटना नहोस् भनेर कामना गरिन्छ । सिकारमा १५ देखि २० जनाको समूह हुन्छ । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ मह सिकार । टोली नेताले सिकारको नेतृत्व सम्हाल्छन् । मुख्य सिकारीलाई ‘भिरौटे’ भनिन्छ । जो पराङमा झुन्डिएर मह काढ्न भिर छिचोल्छन् । ज्यानकै बाजी उठाएर मह काढ्छन् । पहाडी भेगका भिमकाय भिर र पहरामा बर्सेनि गाउँलेहरू यसरी मह सिकारमा रमाउँछन् । पुस्तैनी सीप र परम्परालाई पछ्याउँदै उनीहरूले मह सिकारको चलन धानिरहेका छन् । बाउबाजेले सिकाएको मह सिकारको ज्ञान र सिपलाई पछ्याउँदै आएको सचिव घर्तीले बताउनुभयो । हरेक वर्ष यही याममा ताराखोलामा भिरमौरीको मह सिकार हुँदै आएको छ । ताराखोला–५ को ठूलो भिर र मारो भिरमा धेरै मात्रामा भिरमौरी पाइन्छ । कुनै वर्षमा दुई याममा मह पाइने भएपनि प्रायः वर्षको एकपटक मात्र मह काढ्न मिल्ने स्थानीयवासी बताउँछन् । मह सिकार जोखिमपूर्ण हुने हुँदा जो कसैले सजिलै महको सिकार गर्न सक्दैनन् । दक्ष र अनुभवीहरूमात्र मह सिकारमा जान्छन् । साहससँगै सीप र कौशल भएकालाई मात्र सिकारमा पठाउने गरिन्छ । पराङमा झुन्डिएर मह काढ्नुपर्ने भएकाले मौरीले आक्रमण गर्ने जोखिम पनि उत्तिकै हुन्छ । मह सिकारका लागि चाहिने अधिकांश सामग्री लेकाली चोयाँबाट बनाउने गरिन्छ । चोयाँ र काठबाट बनेको पराङ (भर्याङ) मह सिकारका लागि चाहिने मुख्य सामग्री हो । त्यसकै सहायतामा सिकारीहरू भिरमा पुग्छन् । सुथरी (डोरी), चाका झिक्ने साज, मह राख्ने डाली पनि निगालोको चोयाँबाट बनाउने गरिएको सचिव घर्तीले बताउनुभयो । “पराङलाई रुख र रुख नभएको ठाउँमा ठूलो ढुङ्गामा बाँधेर भिरमा खसालिन्छ, त्यसबाटै सिकारी मौरीको घारनजिक पुग्छन्”, उहाँले भन्नुभयो, “निगालोको टुप्पोमा हँसिया बाँधेर साज बनाइन्छ, त्यसैले काटेर महको चाका घारबाट छुट्याइन्छ र तलपट्टि डालीमा थापिन्छ ।” मौरीको टोकाइबाट बच्न जाबोले मुहार छोप्ने गरिएको उहाँको भनाइ छ । मह निकालेपछि सिकारमा संलग्न र अरू सहभागीलाई बाँड्ने प्रचलन छ । धेरै मात्रामा मह निस्केमा बाहिर बिक्रीसमेत गर्ने गरिएको छ । संस्कृति र परम्पराका रूपमा घरगाउँमा भिरमौरीको मह सिकार हुँदै आए पनि अब यसलाई व्यावसायिक बनाउनुपर्ने खाँचो देखिन्छ । औषधिजन्य गुण र स्वास्थ्यबर्द्धक मानिने हुँदा उपभोक्ताले पनि खोजीखोजी भिरमह प्रयोग गर्छन् । कास्की, म्याग्दी, लमजुङलगायत जिल्लाका पहाडी भेगमा पनि भिरमौरीको मह सिकार गर्ने गरिएको छ । —