काठमाडौँ : मोरङको विराटनगरमा प्रहरीले स्कार्पियो गाडीबाट ३९८ किलोग्राम गाँजा बरामद गरेको छ। गाडीका चालक भने फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति करिब १० बजे विराटनगर महानगरपालिका–३, आयल निगम नजिकको सडकमा अस्थायी प्रहरी चौकी बरगाछीले सवारी जाँच गरिरहेको थियो। त्यस क्रममा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको कोशी प्रदेश १ च ७३९९ नम्बरको स्कार्पियोलाई रोक्न खोज्दा चालकले गाडी फर्काएर भाग्ने प्रयास गरेका थिए।
भाग्ने क्रममा स्कार्पियो सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारसँग ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्कार्पियो जाँच गर्दा १३ पोकामा राखिएको गाँजा भेटिएको हो। प्रहरीका अनुसार कार चालकको अवस्था सामान्य छ र दुर्घटनामा मानवीय क्षति भएको छैन।
दुवै सवारीसाधन नियन्त्रणमा लिएर फरार स्कार्पियो चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


