३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:05 pm
शिक्षा /स्वास्थ्य

खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

सूचना प्रेस २०७८ माघ १७ सोमबार ००:००, ०५:२० बजे १ मिनेट पढाइ

सर्लाही। यहाँका छात्रछात्रालाई आजदेखि कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइने छ ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन पाँच दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयका पठनपाठन भने माघ मसान्तसम्म नै बन्द हुनेछ ।

जिल्लामा एक लाखभन्दा बढी विद्यार्थीले मोर्डना खोपको पहिलो डोज लगाएका छन् । सबै पालिकामा खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले राससलाई बताउनुभयो ।
डीसीसीएमसीको बैठकले कतिपय निजी विद्यालयले अहिले पनि पठनपाठन गराइराखेकाले यसमा निगरानी गर्ने, आमसभा, जुलुस, भेला तथा धेरै मानिस भिडभाड हुने कार्यक्रम अर्को व्यवस्था नहुन्जेल सञ्चालन नगर्नेसमेत निर्णय गरेको प्रजिअ गौतमले जानकारी दिनुभयो ।

जिल्लाका सामुदायिक विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका ८८ हजार नौ विद्यार्थी रहेका शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका निमित्त प्रमुख सुनिल कुशवाहले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सामुदायिक, संस्थागत, धार्मिक तथा अन्य विद्यालय गरी कूल ६७५ विद्यालयले आफ्ना विद्यार्थीले खोप लगाउन फारम भरेका र सोहीअनुसार खोप लगाइने छ ।