१९ जेष्ठ २०८३, मंगलबार 1780390334
Banner

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५ नम्बरको जिप अँधेरीनेटा भन्ने स्थानमा दुर्घटना हुँदा वडासदस्य ५२ वर्षीय केशवराज पौडेलको निधन भएको हो । टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उहाँलाई उपचारको लागि पोखरा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा जिप चालक सोही वडाकै २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते हुनुभएको छ । दुवै जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।