विराटनगर । विश्व वातावरण दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जलवायु परिवर्तनका कारण कोशी प्रदेशमा देखिएका चुनौतीप्रति चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।
विश्व वातावरण दिवसको अवसरमा शुक्रबार जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेश जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको उल्लेख गरेका छन् । उनले हिउँ पग्लने दर बढ्दै जानु, हिमताल विस्फोटको जोखिम बढ्नु, पानीका स्रोत सुक्दै जानु तथा चुरे क्षेत्रको दोहनले पर्यावरणीय सन्तुलन खलबलिएको बताएका छन् ।
‘जलवायु परिवर्तनका चुनौतीहरू दिनप्रतिदिन गम्भीर बन्दै गइरहेका बेला वातावरण संरक्षणका लागि सबैको साझा प्रयास अपरिहार्य छ,’ मुख्यमन्त्री कार्कीले सन्देशमा उल्लेख गरेका छन् । उनले तीव्र विकास र मानवीय गतिविधिका कारण प्राकृतिक स्रोत तथा सम्पदामाथि बढ्दो दबाब परेको भन्दै वन, नदी, खोलानाला तथा जैविक विविधताको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
मुख्यमन्त्री कार्कीले वृक्षारोपण, प्रदूषण नियन्त्रण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा वातावरणमैत्री जीवनशैलीलाई व्यवहारमा उतार्न सके भावी पुस्ताका लागि सुरक्षित भविष्य सुनिश्चित गर्न सकिने उल्लेख गरेका छन् । साथै, उनले वातावरणीय सन्तुलन कायम राख्न सरकार, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ मा वातावरण संरक्षण र जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइँदै आएको छ ।


