२४ जेष्ठ २०८३, आइतबार 1780865140
Banner

परराष्ट्रमन्त्री खनाल भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता

जेठ २४ गते । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किनुभएको छ । परराष्ट्रमन्त्री खनालसहितको प्रतिनिधिमण्डल आइतबार साँझ स्वदेश फर्किएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खनालले भ्रमण उपलब्धिमूलक रहेको दाबी गर्दै नेपाल–भारत सम्बन्धलाई व्यावहारिक र प्रविधिमैत्री बनाउने दिशामा ठोस प्रगति भएको बताउनुभयो । उहाँले भ्रमणका क्रममा सन् २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबिच भएको समझदारीअनुसार व्यक्तिदेखि व्यक्तिसम्म (पीटुपी) हुने सीमापार भुक्तानी कारोबारको पूर्ण सञ्चालन सुरु गर्ने आपसी समझदारी भएको जानकारी दिनुभयो ।

मन्त्री खनालले भारत सरकारको विकास सहायतामा महाभूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएका ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा पुनर्निर्माण परियोजना औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको समेत बताउनुभयो । उहाँका अनुसार प्रविधिको क्षेत्रमा काठमाडौँ विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङअन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र भारतको डिजिटल इन्डिया भाषिनी डिभिजनबिच ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद मञ्च विकासका लागि राष्ट्रिय डिजिटल सार्वजनिक पूर्वाधार सहनिर्माण गर्ने सम्झौतापत्र आदानप्रदान गरिएको छ ।

विमानस्थलमा मन्त्री खनालले भन्नुभयो, “सन् २०२३ जुन महिनामा भएको समझदारीपत्रबमोजिम सीमापार भुक्तानी कारोबारको पूर्ण रूपमा सुरुआत गरिएको छ । साथै भाषा अनुवाद मञ्चका लागि भएको नयाँ सम्झौताले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकासमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

मन्त्री खनालले भारतीय विदेशमन्त्री एस. जयशङ्करसँग विभिन्न क्षेत्रका आपसी सहकार्य, कूटनीति एवं सीमासम्बन्धी विषयमा फलदायी छलफल भएको उल्लेख गर्नुभयो । उहाँले नेपाल र भारतबिच विद्यमान सीमा विवाद समाधान गर्न दुवै देशका संयन्त्रहरूले काम गरिरहेको स्पष्ट पार्नुभयो ।

“सीमासँग सम्बन्धित विषयलाई कूटनीति र अहिले क्रियाशील संयन्त्रमार्फत समाधान गर्ने भन्ने नेपालको स्पष्ट दृष्टिकोण हो,” उहाँले भन्नुभयो, “अहिले सोही ढङ्गले संयन्त्रहरूले काम गरिरहेका छन् र कूटनीतिक माध्यमबाटै निकास निकाल्ने गरी छलफल भएको छ ।”

मन्त्री खनालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि उडान मार्ग (एयर रुट) का विषयमा समेत छलफल भएको उल्लेख गर्दै यसबारे छिट्टै प्राविधिक समितिको बैठक बस्ने जानकारी दिनुभयो । मन्त्री खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा भारत भ्रमणमा जानुभएको हो ।