२५ जेष्ठ २०८३, सोमबार 1780902868
Banner

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। 

सोमबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको १८ औँ बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल र विभिन्न विधेयकहरू प्रस्तुत गर्ने मुख्य कार्यसूची रहेको छ। बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसपछि आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन्।

व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न महत्त्वपूर्ण विधेयकहरू सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ। उनले ‘विनियोजन विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै उक्त विधेयक संसद्मा प्रस्तुत गर्नेछन्। यसैगरी, अर्थमन्त्रीले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै ती विधेयकहरू संसद्मा प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक
काठमाडौँ, २८ वैशाख :
सङ्घीय संसद्को बजेट अधिवेशनको पहिलो दिन सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा मा सहभागीहरू । तस्बिर : प्रदिपराज वन्त/रासस

बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक र महासन्धीहरू पनि पेस हुनेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। 

यसैगरी, सन्धीसम्बन्धी कार्य अन्तर्गत माननीय युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नं. ८१’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ सदनमा पेस गर्ने कार्यसूची रहेको जानकारी संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले दिएका छन्।