काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजम(लोकप्रियता)ले देशलाई सही दिशा दिन नसक्ने बताएका छन्। सोमबार एमाले प्रचार तथा प्रकाशन विभागको पद हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पपुलिजमले क्षणिकमा जनतालाई मन पर्ने कुरा गरेर भ्रममा पार्ने तर त्यसको दीर्घकालीन असर घातक हुने बताए ।
पोखरेलले जनताले लोकरिझाँइका कुरालाई रामवाण जस्तो मानेको बताए । ‘यस्ता कुराले समाजलाई दिग्भ्रमित पारिरहेको छ। यो लामो समय जाँदैन’ उनले भने। पोखरेलले पार्टी थप एकताबद्ध भएर अघि बढ्ने समेत बताए। पार्टी शुद्धीकरण,सुदृढीकरण र पुनर्जागरण अभियान मार्फत एमाले थप बलियो हुने स्पष्ट पारे।
पार्टी सुदृढीकरणका लागि कार्यदलले काम थालिसकेकोले यसको निष्कर्षको आधारमा पार्टीलाई थप मजबुत बनाइने पोखरेलले बताए।पोखरेलले निर्वाचनमा पार्टीको विपक्षमा जनमत आएकोले व्यापक सुधारको आवश्यकता रहेको औँल्याएका छन्।
‘एमालेको विपक्षमा जनमत प्रकट भएको छ । हामीले जनतासँगको सम्बन्ध बलियो बनाउन सकेनौँ’ पोखरेलले भने ‘तर एमाले अब जनतासँग प्रत्यक्ष जोडिएर अघि बढ्छ।’


