२ असार २०८३, मंगलबार 1781626985
समाचार

तेरापन्थ महिला मण्डलको श्री उत्सव सम्पन्न

काठमाडौं । तेरापन्थ महिला मण्डलले श्री उत्सव प्रदर्शनी सम्पन्न गरेको छ । समाजलाई जोड्ने, महिला उद्यमशीलतालाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्धेश्यले उक्त प्रदर्शनीको आयोजना गरिएको थियो । कुनै समय घरबाट बाहिर निस्किदैनन भन्ने भाष्यभित्र परेका मारवाडी महिलाको यो प्रयास सांच्चिकै लोभलाग्दो र प्रेरणादायी थियो । अखिल भारतीय तेरापन्थ महिला मण्डलको नेतृत्वमा तेरापन्थ महिला मण्डल, काठमाण्डौले १३ जुन २०२६ मा आम्रपाली भोजमा श्री उत्सवको भव्य कार्यक्रम आयोजना गर्यो।

कार्यक्रमको शुरुवात जैन श्वेताम्बर तेरापन्थ सभाका अध्यक्ष सुभाग माल जम्मादले आफ्नो शुभ वाचनबाट गरेका थिए । त्यसपछि श्रीमती जतनदेवी दुगडले रिबन काटेर कार्यक्रमको उद्घाटन गरेकी थिइन ।

तेरापन्थ महिला मण्डल काठमाडौंकी अध्यक्ष श्रीमती संगीता बोथराले श्री उत्सवको सफल आयोजनाको लागि सम्पूर्ण समाजप्रति कृतज्ञता व्यक्त गर्दै उपस्थित सबैलाइ हार्दिक स्वागत तथा श्री उत्सवका सम्पुर्ण टीम तथा सहयोगीहप्रति हार्दिक आभार प्रकट गर्दै कार्यक्रम अझ भव्य र सफल बनाउन खेलेको भुमिकाप्रति धन्यवाद प्रकट गरिन। सभा अध्यक्ष सुभाग माल जी जम्माडले पनि तेरापन्थ महिला मण्डल काठमाडौंलाई यस भव्य कार्यक्रमको लागि बधाई तथा शुभकामना दिएका छन् ।

कार्यक्रममा अखिल भारतीय तेरापन्थ महिला मण्डलका कार्यसमिति सदस्य श्रीमती रश्मी जैन र विशेष आमन्त्रित सदस्य श्रीमती अमिता नाहटाको सम्मानजनक उपस्थिति रहेको थियो । अवसरमा विशेष उपलब्धि हासिल गरेका सहभागी तथा विशिष्ट व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो । मास्टर रिधान जैनलाई केवल १० वर्षको उमेरमा पुस्तक लेखनमा उत्कृष्ट र प्रेरणादायी योगदानको लागि सम्मान गरिएको थियो भने श्रीमती शोभना दुगडलाई श्रीलङ्काका माननीय प्रधानमन्त्रीले सार्क राष्ट्रमा छनोट भएका तीनजना महिला उद्यमीहरूमध्येबाट मात्रै विशेष सम्मान दिएका थिए, जुन सम्पूर्ण समाजको हितको विषय भएकाले श्रीमती दुगडलाइ पनि उक्त अवसरमा सम्मान प्रदान गरियो ।महोत्सवमा लुगा, गरगहना, खाद्यवस्तु तथा अन्य आकर्षक वस्तुका ३१ स्टल राखिएको थियो जसको प्रदर्शनी निकै आकर्षक र प्रशंसनीय थियो । विशेषगरी कन्या मण्डलद्वारा सञ्चालित खेल स्टलले सबैको ध्यानाकर्षण गर्दै कार्यक्रममा मनोरञ्जनको विशेष स्वाद थपेको थियो ।

५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि बेष्ट आउट अफ वेस्ट’ प्रतियोगिता आयोजना गरिएको थियो, जसमा २६ जना बालबालिकाले सहभागिता जनाएका थिए । सबै सहभागीहरूले सुन्दर र रचनात्मक वस्तुहरू बनाएर आफ्नो प्रतिभा शानदाररुपमा प्रदर्शन गरे। कार्यक्रममा दर्शकहरु माझ रोचक प्रश्नोत्तर र खेलहरु पनि आयोजना गरिएको थियो जसले गर्दा वातावरण उत्साहपूर्ण बनेको थियो । यस्ता गतिविधिहरूले दर्शकहरूको सक्रिय सहभागिता सुनिश्चित मात्र गरेनन्, विजेताहरूलाई आकर्षक उपहारहरू र हौसला समेत प्रदान गरेकाले कार्यक्रम अझ रमाइलो र उत्साहजनक बन्यो। दिनैभर दर्शकहरुको उत्साहजनक भिड रहेको श्री उत्सवमा सबै दर्शकहरुले कार्यक्रमको भरपुर मनोरञ्जन लिएका थिए ।

प्रदर्शनीमा सहभागी सबै प्रदर्शकहरू अत्यन्तै सन्तुष्ट भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहभागी हुने इच्छा व्यक्त गरे । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, कार्यसमिति सदस्य तथा समाजका सदस्यहरु गरी करिब ७ सय जनाको उल्लेख्य सहभागिता रहेको थियो । श्री उत्सव एक प्रदर्शनी मात्र नभएर समाजलाई जोड्ने, महिला उद्यमशीलतालाई प्रोत्साहन र प्रवर्द्धन गर्ने सुन्दर र सफल प्रयास पनि थियो । कुनै समयमा घरबाट बाहिर निस्किदैनन भन्ने भाष्यभित्र परेका मारवाडी महिलाको यो प्रयास सांच्चिकै लोभलाग्दो र प्रेरणादायी थियो ।