४ असार २०८३, बिहिबार 1781781773
समाचार

पूर्वराष्ट्रपतिका छोरा योशिता भ्रष्टाचार आरोपमा पक्राउ

काठमाडौं : श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका छोरा योशिता राजपाक्षे बुधबार भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् ।

श्रीलंकाको भ्रष्टाचार विरोधी आयोगका अनुसार ३८ वर्षीय योशितामाथि नौसेना अधिकारीका रूपमा अन्तर्राष्ट्रिय तालिम प्राप्त गर्न सरकारी कोषको दुरुपयोग गरेको आरोप छ । आयोगका अनुसार आवश्यक योग्यता नपुगे पनि उनी नौसेनाको उच्च पदमा पुगेका थिए । र, उनलाई तालिमका लागि बेलायत पठाइएको थियो ।

योशिता सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी दुईवटा मुद्दाका पनि अभियुक्त हुन् । यसअघि उनी ती मुद्दामा धरौटीमा रिहा भएका थिए । उनीमाथि विदेश यात्रा गर्न समेत प्रतिबन्ध लगाइएको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार, बुधबार उनलाई भ्रष्टाचार विरोधी आयोगले कोलम्बोको मुख्य मजिस्ट्रेट अदालतमा उपस्थित गराएको थियो ।

अदालतले पुनः धरौटीमा रिहा गर्न आदेश दिएको छ । यससँगै उनी जेल बाहिर नै रहनेछन् । समाचार एजेन्सी एएफपीका अनुसार राजपाक्षे परिवारका थुप्रै सदस्य र उनीहरूका सहयोगीहरूविरुद्ध विगतका वर्षहरूमा भ्रष्टाचारदेखि हत्याजस्ता गम्भीर आरोपमा विभिन्न मुद्दा दर्ता भएका छन् । यद्यपि, ती अधिकांश मुद्दा अझै अदालतमा विचाराधीन छन् ।

श्रीलंकाका वर्तमान राष्ट्रपति अनुराकुमार दिशानायके भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धतासहित सत्तामा आएका थिए । उनको कार्यकालमा राजपाक्षे परिवारसँग सम्बन्धित पुराना मुद्दाहरूको अनुसन्धानलाई थप तीव्र बनाइएको छ ।