काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले ठुलो बलिदानबाट आएको व्यवस्था र सरकारको गैरकानुनी हर्कत जनताका लागि चुनौती बनेको जिकिर गरेका हुन् ।
४९औँ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३५औँ किसान सङ्घर्ष दिवसको अवसरमा नेता पाण्डेले देशको भूराजनीति निकै सङ्कटमा परेको र त्यसको मुख्य कारक वर्तमान सरकार रहेको आरोप लगाए । सत्तामा अपरिपक्व र जनविरोधी शक्ति पुग्नुमा कम्युनिस्ट पार्टीहरूको अदूरदर्शिता मुख्य कारक रहेको उनको दाबी छ।
‘हाम्रो विगतको गल्तीले जनविरोधीहरू सरकारमा छन्, उनीहरूविरुद्ध एक भएर सङ्घर्ष गर्नुको विकल्प छैन,’ पाण्डेले भने। पाण्डेले सरकारको नीति तथा बजेटले गरिब, सुकुमबासी र मध्यमवर्गीय नागरिकको हितभन्दा सम्पन्न वर्गलाई प्राथमिकता दिएको आरोप लगाएका छन्। सरकारले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताको महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर सामान्य नागरिकमाथि प्रत्यक्ष आर्थिक भार थपेको उनले दाबी गरे। शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत कर वृद्धि गर्ने काम भएको उनको भनाइ छ।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइको सरकार छ। भर्खरै ल्याएको बजेटमा सामान्य जनतालाई प्रत्यक्ष असर पर्ने गरी ५० युनिटभन्दा माथिको बिजुलीमा भ्याट लगाइएको छ, जसले गरिबको ढाड सेक्ने काम गरेको छ।’ देशभरका १३ लाख सुकुमबासी परिवारले स्थायी बसोबासको माग गर्दै निवेदन दिए पनि राज्यले उनीहरूलाई जनता नै नठानेको पाण्डेले बताए। ‘डोजर लगाएर दुःख दिइएको छ, अहिले होल्डिङ सेन्टरमा लगिएको छ। त्यो जेल हो कि बस्ने ठाउँ हो, कुनै ठेगान छैन,’ उनले थपे।
नेपालको वर्तमान भूराजनीतिक अवस्थालाई चुनौतीपूर्ण मान्दै पाण्डेले भने, ‘भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने अवस्थामा कूटनीतिक जटिलता थपिँदै गएको छ। यी सबै घटनाक्रमले गर्दा हामी अहिले अत्यन्तै अप्ठ्यारो अवस्थामा छौँ र यो अवस्था अझै थपिनेवाला छ।’
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बलराम बाँस्कोटाले पनि देशको भूराजनीतिक अवस्था चुनौतीपूर्ण रहेको भन्दै चिन्ता व्यक्त गरे। ‘समाजवादी चीनलाई घेराउ गर्न साम्राज्यवादी अमेरिकाले नेपाली भूमिको दुरुपयोग गर्न थालेको छ, यसबारे क्रान्तिकारीहरू सजग रहनुपर्छ,’ उनले भने।
अखिल नेपाल किसान महासङ्घका इन्चार्ज बलदेव चौधरीले जुगेडीका किसानहरूले ४९ वर्ष पहिले गरेको विद्रोह नेपाली किसान र देशको परिवर्तनको मूल आधार भएको बताए। वर्तमान सरकार धनी र उपल्लो वर्गको पक्षमा रहेको र गरिब तथा उत्पीडित वर्गलाई थप सङ्कटमा पार्ने खेल खेलिरहेको उनले आरोप लगाए।
महासङ्घका संयोजक चित्रबहादुर श्रेष्ठले जुगेडी किसान सङ्घर्षको गरिमा र महिमाबारे प्रस्ट पार्दै यो किसान सङ्घर्ष र मुक्तिको ऐतिहासिक घटना भएको बताए।
यस्तै, किसान नेता नहेन्द्र खड्काले जुगेडी किसान सङ्घर्षको बाटो अनुसरण गर्दै समाजवादी क्रान्ति गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे भने नेता रणेन्द्र बरालीले सरकारले सुकुमबासीमाथि गरेको गैरकानुनी हर्कतविरुद्ध सङ्घर्ष चर्काउनुपर्नेमा जोड दिए। महासङ्घका सहसंयोजक रामकुमार ज्ञवालीले किसान सङ्गठनहरू विभाजित हुनुभन्दा एक भएर सरकारका किसान विरोधी कदमको प्रतिवाद गर्नुपर्ने बताए।


