२१ भदौ २०८३, आइतबार 1788743886
Banner

पोर्चुगल र कोलोम्बिया बराबरीमा दुबै टीम नकआउट चरणमा

काठमाडौंः फिफा विश्वकप अन्तर्गतको समूह ’के’ को रोमाञ्चक अन्तिम खेलमा कोलोम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

मियामी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका धेरै अवसर सिर्जना गरे पनि जाली चुमाउन सकेनन्। यस बराबरीका बाबजुद दुवै टोली यसअघि नै अन्तिम ३२ नकआउट चरण मा पुग्न सफल भइसकेका थिए।

खेलको अन्तिम समयमा कोलोम्बियाका डेभिन्सन सान्चेजले जुआन फर्नान्डो क्विन्टेरोको पासमा हेडिङमार्फत गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले निकै सुक्ष्म जाँचपछि उक्त गोललाई अफसाइड घोषित गरिदिएपछि कोलोम्बिया जितबाट वञ्चित भयो।

पोर्चुगललाई समूहको शीर्ष स्थानमा रहन जित आवश्यक थियो, तर बराबरीले उसलाई दोस्रो स्थानमा खुम्च्याएको छ। यसै समूहको अर्को खेलमा प्रजातान्त्रिक गणतन्त्र कंगोले उज्वेकिस्तानमाथि ३–१ को शानदार पुनरागमन जित निकाल्दै इतिहास रचेको छ। विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणमा स्थान बनाउने क्रममा कंगोका लागि फिस्टन मायेलेले ७८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने इन्जुरी समयको पहिलो मिनेटमा योआने विसाले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे।

सुरुवातमा पछि परेको कंगोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो। यो ऐतिहासिक जितसँगै कंगोले अब अन्तिम ३२ को भिडन्तमा इंग्ल्याण्डको सामना गर्ने तय भएको छ। उता, उज्वेकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ।