१७ असार २०८३, बुधबार 1782913600
समाचार

११ जिल्लाका नदीमा आज बाढीको जोखिम

काठमाडौं : वर्षाको सम्भावना रहेकाले आज केही नदी तथा खोलामा बाढीको जोखिम रहेको छ ।

झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

यी जिल्लाका नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ । भोलि झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, नवलपरासी पश्चिम रुपन्देही, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भएर बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।

आज र भोलि मनसुनी गतिविधि बढ्ने र मधेस, कोसी, वाग्मती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ । यी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।