दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति र स्थानीय तहमा समन्वय विस्तारका विषयमा छलफल गर्न भेला आयोजना गरिएको हो ।
कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अगुवाइमा भएको भेलामा निवर्तमान सहमहामन्त्री किशोर राठोर प्रमुख अतिथि रहेका छन् । त्यस्तै, निवर्तमान केन्द्रीय सदस्यहरू गुरु बराल र कुन्दनराज काफ्ले लगायतका नेताहरूको पनि भेलामा सहभागिता छ ।
तर, विगतमा देउवा समूहमा सक्रिय रहँदै आएका लुम्बिनी प्रदेशका केही प्रभावशाली नेताहरू भने यस भेलामा अनुपस्थित छन् ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका कार्यकर्ता तथा प्रतिनिधिहरूको सहभागिता रहेको उक्त भेलामा पार्टीभित्रको एकता र आगामी महाधिवेशन तयारीबारे विस्तृत विमर्श हुने बताइएको छ । भेलालाई सम्बोधन गर्दै सहभागी नेताहरूले पार्टीभित्रको आन्तरिक एकता अपरिहार्य रहेको भन्दै फुटभन्दा पनि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।


