४ आश्विन २०८१, शुक्रबार 1726863303
Banner

ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने चार विद्यार्थी पक्राउ

काठमाडौँ । काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा चार जना विद्यार्थी पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका वीरमुनीका १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थलीका १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग -६ का १८ वर्षीय प्रतिक खतिवडा र काठमाडौं टोखा -६ ढलमलका १८ वर्षीय सञ्जिब भण्डारी रहेका छन्।

बुधबार दिउँसो मानविकी संकायमा कक्षा ११ मा पढ्ने विद्यार्थीले कलेजका सुरक्षा गार्डलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । धारिलो हतियार प्रहारबाट बायाँ कान मुनि चोट लागेका ती सुरक्षा गार्ड उपचारपछि डिस्चार्ज भैसकेका छन् ।

करिब १० दिन अगाडी कलेज प्राङ्गणमा बास्केटबल खेल्दा भएको विवादको विषयलाई लिएर कलेजमा दुई पक्षबीच झै-झगडा हुन लाग्दा कलेजका सुरक्षा गार्डले छुट्याएका थिए। सोही घटनालाई लिएर गार्डमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।