काठमाडौं/ सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा सरकारले आफ्ना प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारका पहिलो १०० दिनका मुख्य काम र उपलब्धिबारे जानकारी गराएका हुन्।

प्रवक्ता पोखरेलका अनुसार सरकारले प्रशासनिक संरचनामा व्यापक सुधार गर्दै मन्त्रालयको संख्या २५ बाट घटाएर १८ मा सीमित गरेको छ। यस निर्णयबाट वार्षिक करिब २० अर्ब रुपैयाँ सरकारी खर्च बचत हुने सरकारको दाबी छ। सरकारले यसलाई पहिलो १०० दिनको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।
त्यसैगरी, निजामती सेवामा लामो समयदेखि विवादको विषय बनेको निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णयलाई पनि सरकारले ऐतिहासिक सुधारका रूपमा व्याख्या गरेको छ। यसबाट निजामती प्रशासनलाई थप व्यावसायिक, उत्तरदायी र सेवामुखी बनाउन सहयोग पुग्ने सरकारको विश्वास छ।
पत्रकार सम्मेलनमा सरकारले विभिन्न मन्त्रालयमार्फत भएका नीतिगत सुधार, प्रशासनिक पुनर्संरचना, सुशासन प्रवद्र्धन तथा सेवा प्रवाहमा गरिएका सुधारका विषयमा समेत जानकारी दिइरहेको छ। सरकारका अनुसार १०० दिनको अवधिमा प्रशासनिक खर्च नियन्त्रण, संरचनागत सुधार र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिएको छ। मन्त्री पोखरेलले अहिले उपलब्धी सार्वजनिक गरिरहेका छन् ।


