दाङ, ३१ असारः यहाँस्थित जखेरा तालको मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याइरहेको छ । दाङको लमही नगरपालिका–३ मा पर्ने जखेरा सरोवर उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा परिचित छ । चुरे पहाडको फेदमा अवस्थित छ, जखेरा । नजिकै मुसुण्डी गाउँ, उतरतर्फ चुरे पहाड र पहाडको बीचमा सरोवर । यस्तै दृश्यले यहाँ आउने जो कोही लठ्ठ पर्ने गरेको बताइन्छ । गत वैशाख, जेठ महिनामा ताल अवलोकनका लागि झण्डै दुई लाख आन्तरिक तथा बाह्य पर्यटक आएका तालका कर्मचारी ओमभक्त चौधरीले जानकारी दिनुभयो । सरोवरमा घुमघाम र वन भोजका लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । झण्डै आठ बिघा क्षेत्रफलमा फैलिएको छ, ताल । गहिराइ सात फिट रहेको छ । उत्तरतर्फ गणेश तथा पूर्वमा सिद्देश्वर महादेवको मन्दिर पनि । जलाशयमा ढुङ्गाबाट सयर गर्न सकिन्छ, तालका बीचमा मन्दिरको पूजा पनि । पूर्वमा भगवान् गौमबुद्धको मूर्ति, वरपर बनभोज स्थल, बगैँचा, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन यहाँ गर्न सकिन्छ । सरोवरमा पाँच वटा डुङ्गा छन् । सङ्ख्या कम भएकाले ढुङ्गा चढ्न नपाई केही पर्यटक दुःखी पनि भएका छन् । एक व्यक्तिले तालमा ढुङ्गा चढेर जलविहार गरेमा रु एक सय तथा मन्दिर दर्शनका लागि रु ५० शुल्क निर्धारण गरिएको छ । तुलसीपुरबाट आउनुभएकी ४८ वर्षीया निरा कँुवरले तालको अवलोकनबाट आनन्दित भएको बताउनुभयो । उहाँले तालको सरसफाइमा ध्यान पुगेको छैन भन्नुभयो । तुलसीपुरका अर्की ३७ वर्षीया शारदा देवी ओलीले जलाशयको आकर्षण देखेर मन लोभिएको बताउनुभयो । जनश्रमदान र राज्यका निकायले गरेको सहयोगले उक्त जलाशय जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । स्थानीय थारु भाषामा जुन ठाउँमा आकाशे पानी सङ्कलन हुन्छ, त्यस ठाउँलाई जखेरा भनिन्छ । विसं २०३० मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका– ३ मा जखेरा ताल रहेको छ । जखेराको संरक्षणका लागि स्व दिपु चौधरीको भूमिका महत्वपूर्ण थियो । उहाँले सोनपुर, टिकुलीगढ, फल्कापुर, श्रीगाउँका स्थानीय बुद्धिजीवीसँग सहकार्य गरी खेर गइराखेको आकाशे पानी सङ्कलन गर्न थाल्नुभयो । क्रमशः पोखरी बन्न पुग्यो । सो पोखरीमा वन क्षेत्रबाट बगी आएको पानीसमेत जम्मा हुन थाल्यो । सिँचाइ सुविधाका लागि सङ्कलन गरिएको ठूलो पोखरी अन्ततः लामो समयपछि जखेरा तालका नाममा परिचित छ । दाङको लमही बजारबाट छ किलोमिटरपूर्व र सुनडबरी गाउँबाट उत्तर दुई किलोमिटर टाढा जखेरा ताल पर्छ । पूर्वपश्चिम राजर्मागबाट नजिकै रहेकाले भारत, तथा तेस्रो मुलुकबाट पनि जखेराको अवलोकनका लागि पर्यटक आउने गर्छन् ।

