३१ असार २०८३, बुधबार 1784171680
फिचर

ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै

डुम्रे (तनहुँ), ३१ असारः तनहुँ प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, धार्मिक आस्था, सांस्कृतिक विविधता तथा ग्रामीण जीवनशैलीले भरिपूर्ण छ । पृथ्वीराजमार्गले जोडिएको, पोखरा र काठमाडौँको बीचमा रहेको यस जिल्लामा विश्वप्रसिद्ध वेदव्यासको तपोभूमि, बन्दीपुर, देवघाटधाम र शुक्लागण्डकीजस्ता पर्यटकीय गन्तव्यले राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटकलाई आकर्षित गरिरहेका छन् । तर, यिनै चर्चित गन्तव्यको छायाँमा तनहुँका दर्जनौँ पर्यटकीय क्षेत्र भने अझै ओझेलमा छन् । पछिल्ला केही वर्षयता स्थानीय तह, गण्डकी प्रदेश सरकार, पर्यटन व्यवसायी तथा स्थानीय समुदायको सक्रियताले यस्ता ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुन थालेको छ । सडक पहुँच विस्तार, पदमार्ग निर्माण, धार्मिक स्थल संरक्षण, घरबास (होमस्टे) सञ्चालन, डिजिटल प्रचारप्रसार तथा स्थानीय संस्कृति संरक्षणका कार्यक्रममार्फत ती क्षेत्रलाई पर्यटनको मुख्य नक्सामा जोड्ने प्रयासले प्रवर्द्धन गर्न सहज भएको छ । जिल्लाका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका क्षेत्र प्रशस्त छन् । तर, पर्याप्त प्रचारप्रसार, पूर्वाधार र योजनाको अभावमा अधिकांश क्षेत्रले अपेक्षित पर्यटक आकर्षित गर्न सकेका छैनन् । व्यास नगरपालिका-४ स्थित तनहुँ कालिका सहिद जङ्गल पार्क, व्यास–५ स्थित मानहुँकोट, व्यास नगरपालिका–८ स्थित सहिद गाउँ पुलिमराङ, सहिद पार्क, रिस्ती फाँट, प्राचीन ठूलो ढुङ्गा, नमुना घरबास टुटेपानी, नेपालकै पहिलो सौर्य ऊर्जा परियोजना, देवीथान, तनहुँसुर, मिर्लुङकोट, ऋषिङ, घण्टाचुलीलगायत पर्यटकीय क्षेत्र रहेका छन् । त्यस्तै, परासर गुफा, व्यास गुफा, अनन्त गुफा, चमेरे गुफा (गुप्तेश्वर गुफा), सिद्ध गुफा, शीतल गुफा, तनहुँसुर इको ट्रेक, आदिकवि भानुभक्त आचार्यको जन्मस्थल, घाँसीकुवा, दुबुङकोट, भुजीकोटलगायत ओझेलमा परेका क्षेत्रको अहिले प्रवर्द्धन हुन थालेका छन् । नेपालीमा भ्रमणको प्रचलन बढेसँगै ओझेलमा परेका क्षेत्रको प्रवर्द्धन हुन थालेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । “ओझेलमा परेका क्षेत्रको आधुनिकीकरण र प्रविधिको उपयोगले प्रवर्द्धनमा सहयोग पुगेको देखिन्छ”, उहाँले भन्नुभयो, “यसका साथै नगरपालिकाभित्रको पर्यटकीय, सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाको पहिचानलाई प्राथमिकतामा राखिएका छौँ ।” यी अमूर्त सम्पदालाई आयसँग जोड्ने प्रयासमा जुटेको उहाँको भनाइ छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिर धार्मिक तथा प्राकृतिक गन्तव्य हो । यहाँबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालसँगै तनहुँ, गोरखा, कास्की र चितवनका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । हिन्दू धर्मावलम्बीका लागि धार्मिक आस्थाको केन्द्र भए पनि व्यवस्थित पदमार्ग, पर्याप्त विश्रामस्थल र प्रचारको कमीले यसको पर्यटन सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन । धार्मिक पर्यटनका नयाँ केन्द्र देवघाटधाम तनहुँको सबैभन्दा चर्चित धार्मिक गन्तव्य हो । देवघाटबाहेक पनि जिल्लाका विभिन्न पालिकामा धार्मिक महत्वका मन्दिर तथा तीर्थस्थल छन् । आँबुखैरेनी गाउँपालिकाको ऐतिहासिक आँधीमूल, बन्दीपुर गाउँपालिकाको थानीमाई मन्दिर रहेका छन् । यी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय सरकारले वार्षिक बजेट विनियोजन गर्दै आएको छ । छाब्दी बाराही मन्दिर, ढोरबाराही मन्दिर, छाङ्गा बाराही मन्दिर, अकला मन्दिरलगायत धार्मिक गन्तव्यको पर्याप्तमात्रामा प्रवर्द्धन हुन सकेको छैन । धार्मिक पर्यटनसँगै योग, ध्यान तथा आध्यात्मिक पर्यटनको विकास गर्ने अवधारणाले पनि गति लिँदै गएको छ । दुईदिने बिदाले पनि यस्ता लुकेका क्षेत्रमा आन्तरिक पर्यटक पुग्ने र डिजिटल माध्यमबाट प्रवर्द्धन गर्ने गरेको स्थानीय त्रिलोचन लम्सालले बताउनुभयो । ग्रामीण पर्यटन र होमस्टेको विस्तार पर्यटनको नयाँ अवधारणाअनुसार ग्रामीण जीवनशैली, स्थानीय संस्कृति तथा मौलिक खानपानप्रति पर्यटकको आकर्षण बढ्दो छ । तनहुँका विभिन्न गाउँमा सञ्चालन भएका घरबास (होमस्टे)ले ग्रामीण पर्यटनलाई नयाँ उचाइतर्फ उकासेको छ । व्यास, देवघाट, बन्दीपुर, भानु, म्याग्दे, ऋषिङ, शुक्लागण्डकी, भिमाद तथा घिरिङ क्षेत्रका घरबासमा स्थानीय संस्कृति, परम्परागत खाना, लोकनृत्य तथा कृषि अनुभव गराउने व्यवस्था गरिएको पाइन्छ । पछिल्ला वर्षमा ग्रामीण पर्यटनप्रति आन्तरिक पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढेको पाइएको पर्यटन विद हरिसिं गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “होमस्टेले स्थानीय रोजगारी, महिला उद्यमशीलता तथा स्थानीय उत्पादनको बजारीकरणमा सकारात्मक योगदान पु¥याएको देखिन्छ ।” यसले ग्रामीण क्षेत्रका महिलालाई आर्थिक रुपमा सबल बनाउन मद्दत पुगेको उहाँको बुझाइ छ । दरै, मगर र गुरुङ संस्कृतिले बढाएको आकर्षण तनहुँ विभिन्न जातजातिको साझा बसोबास रहेको जिल्ला मानिन्छ । विशेषगरी दरै, मगर, गुरुङ, नेवार, ब्राह्मण, क्षेत्रीलगायत समुदायका मौलिक संस्कृति पर्यटकका लागि आकर्षण माध्यम बनेको छ । दरै समुदायको चुड्का नाच, गुरुङ समुदायको रोधी संस्कृति, मगर समुदायका मौलिक कौराहा, परम्परा, स्थानीय मेलापर्व तथा सांस्कृतिक कार्यक्रम पर्यटनसँग जोड्ने प्रयास भइरहेको पर्यटनविद् गुरुङले बताउनुभयो । “पर्यटन केबल प्राकृतिक दृश्यमा सीमित हुँदैन । स्थानीय जीवनशैली, भाषा, वेषभूषा, कला र संस्कृतिलाई पनि पर्यटनसँग जोड्नसके ग्रामीण अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सकिन्छ”, उहाँले भन्नुभयो, “यसले गर्दा संस्कृति संरक्षणमा समेत टेवा पुगेको छ ।” गण्डकी प्रदेश सरकार, स्थानीय तह तथा सङ्घीय सरकारको सहकार्यमा पर्यटकीय पूर्वाधार निर्माणले गति लिन थालेको छ । हाल विभिन्न क्षेत्रमा सडक स्तरोन्नति, पदमार्ग, विश्रामस्थल, खानेपानी, शौचालय, सूचना केन्द्र, पार्किङ, भ्यू टावर तथा डिजिटल सूचना बोर्ड निर्माण भइरहेका छन् । पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले पनि स्थानीय तहसँग सहकार्य गर्दै पर्यटन पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । डिजिटल प्रवर्द्धनको प्रभाव सामाजिक सञ्जाल, युट्युब, टिकटक तथा अन्य डिजिटल माध्यमले तनहुँका ओझेलमा रहेका अधिकांश स्थानलाई चर्चामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । मानहुँकोट, छिम्केश्वरी, विभिन्न झरना तथा ग्रामीण गन्तव्यका भिडियो लाखौँ पटक हेरिएका भेटिन्छन् । यसले आन्तरिक पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको स्थानीय बताउँछन् । डिजिटल प्रचारले कम लागतमा गन्तव्य चिनाउन सहयोग पुगे पनि त्यसअनुसार पूर्वाधार विस्तार नगरे पर्यटकको अनुभव कमजोर हुनसक्ने भादगाउँ दरै समाजका कोषाध्यक्ष वीरबहादुर दरैले बताउनुभयो । “अहिलेको समय प्रविधिको युग भएकाले प्रवर्द्र्धनमा सहज छ”, उहाँले भन्नुभयो । स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव ओझेलमा रहेका पर्यटकीय क्षेत्र प्रवर्द्धनसँगै स्थानीय होटल, रेस्टुरेन्ट, होमस्टे, कृषि उत्पादन, हस्तकला तथा यातायात व्यवसायमा सकारात्मक प्रभाव देखिन थालेको छ । किसानले उत्पादन गरेका तरकारी, मह, कोदो, मकै, गहुँ, स्थानीय परिकार तथा हस्तकलाका सामग्रीको बिक्री बढ्दै गएको व्यावसायीकरण हुँदै गएको पाइन्छ । महिला तथा युवाले होमस्टे, गाइड सेवा, कृषि पर्यटन तथा साना उद्यममार्फत आयआर्जनको अवसर सिर्जना भएको छ । पर्यटन विकाससँगै वातावरण संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको स्थानीयको भनाइ छ । वन क्षेत्र, जैविक विविधता, पानीका मुहान तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन विकास देखिएको पर्यटनविद् गुरुङले बताउनुभयो । उहाँका अनुसार अनियन्त्रित निर्माण, प्लास्टिकजन्य फोहर तथा प्राकृतिक सम्पदाको दोहनले दीर्घकालमा पर्यटनलाई नै असर गर्नसक्ने भएकाले दिगो पर्यटनको अवधारणालाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता देखिन्छ । चुनौती र सरकारी पहल सम्भावना प्रशस्त भए पनि तनहुँका धेरै पर्यटकीय क्षेत्रले विभिन्न चुनौती सामना गरिरहेका छन् । पर्याप्त बजेट अभाव, सडकको कमजोर अवस्था, गुणस्तरीय आवास सुविधा कमी, दक्ष पर्यटन जनशक्ति अभाव, एकीकृत पर्यटन योजना नहुनु तथा प्रभावकारी प्रचारप्रसारको कमी रहेका पर्यटनविद् गुरुङले बताउनुभयो । “कतिपय पर्यटकीय स्थलमा फोहर व्यवस्थापन, सुरक्षा, खानेपानी तथा शौचालयजस्ता आधारभूत सुविधासमेत पर्याप्त छैनन्”, उहाँले भन्नुभयो, “केही पहल भइरहेका छन् । पूर्वाधार विकाससँगै स्थानीय समुदायको स्वामित्व र सहभागिता सुनिश्चित गर्नसके मात्रै पर्यटन दिगो बन्न सक्छ ।” गण्डकी प्रदेश सरकारले पर्यटनलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउँदै विभिन्न जिल्लामा नयाँ पर्यटकीय गन्तव्य पहिचान, पूर्वाधार निर्माण तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । तनहुँका स्थानीय तहले पनि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमिकता दिँदै भ्यूटावर, पदमार्ग, धार्मिकस्थल संरक्षण, होमस्टे प्रवर्द्धन तथा सांस्कृतिक महोत्सव सञ्चालन गरिरहेका छन् ।