काठमाडौं । नेपाल टेलिकमले मुगुको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ।
सोरुकोटमा सेवा शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको बताए । उनीहरूले सेवाको दिगो सञ्चालन, संरक्षण तथा आवश्यकता अनुसार क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
नेपाल टेलिकमका अनुसार, बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना, नातीखोला तथा त्यहाँका गुम्बासम्म सेवा पुगेको छ । साथै, बाजुराबाट रानिसैन पुग्ने पदमार्गमा समेत फोरजी कभरेज विस्तार भएको छ ।
त्यस्तै, कुवाडी खोलाको संगम आसपासका गाउँहरू र हुम्लाको ताँजाकोट गाउँपालिका–२ जाने मार्गमा पनि फोरजी सेवाको पहुँच पुगेको कम्पनीले जनाएको छ ।
फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवाको सहज उपयोग गर्न सक्ने भएका छन् । यसबाट स्थानीय आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्नुका साथै सूचना, शिक्षा, स्वास्थ्य र सरकारी सेवामा नागरिकको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।

