हेटौंडा-नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। नेपाली कांग्रेससँगको सत्ता गठबन्धन अन्त्य गर्दै एमालेका सबै मन्त्रीहरूले मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्।
यसअघि सोमबार काठमाडौंमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने निष्कर्ष निकालेको थियो। तर मंगलबार पार्टी केन्द्रबाट निर्देशन प्राप्त भएपछि एमालेले सरकार छाड्ने निर्णय कार्यान्वयन गरेको हो।

बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट मधुसूदन पौडेल, विन्दु श्रेष्ठ, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, किरण थापामगर र भरत केसी मन्त्री रहेका थिए। उनीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्।
एमाले सरकारबाट बाहिरिएसँगै बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक अवस्था सिर्जना भएको छ। अब मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकारको आगामी रणनीति र नयाँ गठबन्धनको सम्भावनातर्फ राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ।
यसैबीच, केन्द्रमा नेकपा (एमाले) र नेकपाबीच राजनीतिक सहकार्यको प्रक्रिया अघि बढिरहेको बताइएको छ। स्रोतका अनुसार दुवै दलबीच प्रदेश सरकार गठनदेखि राष्ट्रिय राजनीतिक सहकार्यसम्मका विषयमा सकारात्मक समझदारी विकसित हुँदै गएको छ। यसले प्रदेश र संघीय राजनीतिमा नयाँ समीकरण बन्ने संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

