८ श्रावण २०८३, शुक्रबार 1784927265
समाचार

जेनजी आन्दोलनमा रौतहटबाट फरार कैदी ११ महिनापछि पक्राउ, अझै ११७ जना फरार

रौतहट । जेनजी आन्दोलनका क्रममा रौतहट कारागारबाट फरार भएका एक कैदी करिब ११ महिनापछि मकवानपुर प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका–७ निवासी ३४ वर्षीय शैलेन्द्रकुमार साह रहेका छन् ।

मुद्रा कसुर तथा संगठित अपराधसम्बन्धी मुद्दामा रौतहट कारागारमा कैद भुक्तान गरिरहेका साह भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राति जेल फोडेर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार साहलाई बिहीबार राति हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

फरार भएको करिब ११ महिनापछि पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ ।

रौतहटका सिडिओ दिनेशसागर भुसालका अनुसार जेनजी आन्दोलनका क्रममा गौर कारागारबाट फरार २६४ मध्ये २४७ जना नेपाली र १७ जना भारतीय रहेका थिए । सो मध्ये १४१ जना नेपाली र ६ जना भारतीय गरी १४७ जना विभिन्न मितिमा पक्राउ परेका छन् । पक्राउ पर्न बाँकी ११७ मध्ये १०६ नेपाली र ११ जना भारतीय रहेको सिडिओ भुसालले जानकारी दिएका छन् ।