रूपन्देही । रूपन्देहीमा पछिल्लो समय सर्प तथा सर्पदंशका घटनाहरू बढ्दै गएपछि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
धार्मिक संस्था रुद्र गणको अगुवाइमा युवा अभियन्ता विशाल पाण्डेय र नबिन पौडेलले विभिन्न विद्यालयमा पुगेर सर्पको पहिचान, सर्पदंशबाट बच्ने उपाय, सर्पदंश भएमा अपनाउनुपर्ने प्राथमिक उपचार तथा सर्प संरक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका हुन् ।
कार्यक्रममार्फत विद्यार्थी तथा शिक्षकहरूलाई सर्पप्रति फैलिएका भ्रम हटाई वैज्ञानिक जानकारी प्रदान गर्नुका साथै सर्प संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्ने विषयमा सचेतना फैलाउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रम रूपन्देहीका अन्य विद्यालय तथा समुदायस्तरमा समेत विस्तार गरिनेछ । कार्यक्रमले सर्पदंशका जोखिम न्यूनीकरण, समयमै सही उपचारबारे जानकारी प्रवाह तथा सर्प संरक्षणप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

