१७ श्रावण २०८३, आइतबार 1785704339
फिचर

सकियो ‘३० दिने फोटोग्राफी तथा फोटो-भिडियो पत्रकारिता’ तालिम

काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको ३० दिने ‘फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम’ आइतबार सकिएको छ। तालिममा ३५ जना प्रशिक्षार्थी सहभागी थिए।

अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र उद्योगको विकासमा दक्ष प्राविधिक जनशक्ति उत्पादन अपरिहार्य रहेको बताए। उनले पत्रकार, फोटोपत्रकार तथा दृश्य सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि यस्ता प्रयोगात्मक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए।

काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले तालिमका प्रमुख प्रशिक्षकहरू राजभाइ सुवाल, प्रदीपराज वन्त, श्रीधर पौडेल, ओमलाल अकेला र राजन महर्जनलाई प्रशंसापत्र प्रदान गरिन्। साथै उनले तालिम सफलतापूर्वक पूरा गरेका ३५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिन्।

सो अवसरमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका नेपालका पहिलो स्टिल फोटोग्राफर मञ्जुकुमार श्रेष्ठ तथा वरिष्ठ चलचित्र प्रचार सामग्री डिजाइनर सुन्दर श्रेष्ठलाई जनही ३५ हजार राशिको सम्मान पुरस्कार प्रदान गरिएको थियो।

कार्यवाहक प्रमुख डंगोलले सीपमूलक तालिमले युवाहरूलाई रोजगारी तथा स्वरोजगारतर्फ उन्मुख गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।