२२ श्रावण २०८३, शुक्रबार 1786087469
अर्थ

कर्पोरेट क्षेत्रको पहिलो रोजाइ

पूर्वी नेपालको आतिथ्य क्षेत्रको विश्वासिलो नाम बन्दै ‘बिग होटल’ hh

विराटनगर । औद्योगिक र व्यापारिक केन्द्रका रूपमा परिचित विराटनगर अब उच्चस्तरीय आतिथ्य उद्योगको नयाँ गन्तव्य बन्न थालेको छ । यही परिवर्तनको प्रतीक बनेको विराटनगर–९ रोडसेसस्थित बिग होटल चारतारे होटलमा मात्र सीमित नरही पूर्वी नेपालको पर्यटन उद्योगको महत्वपूर्ण ब्रान्डका रूपमा स्थापित हुँदै गएको छ । 

नौ वर्ष पूरा गरेर दसौं वर्षमा प्रवेश गरेको होटलले सेवा, सुविधा र पूर्वाधारलाई थप स्तरीय बनाउन डेढ करोड रुपैयाँभन्दा बढीको लागतमा रेनोभेसन सुरु गरेको छ ।
सुरुमा ६५ करोड रुपैयाँको लगानीमा स्थापना भएको होटलमा अहिले थप पूर्वाधार विस्तारसँगै कुल लगानी ८० करोड रुपैयाँभन्दा माथि पुगेको छ । होटल व्यवस्थापन पक्षका अनुसार आगामी दशकलाई लक्षित गर्दै लबी, रिसेप्सन, रेस्टुरेन्ट तथा अतिथि बस्ने कोठालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुनः डिजाइन गर्ने काम भइरहेको छ ।

बिग होटलका प्रबन्धक उद्धव भट्टका अनुसार पछिल्ला वर्षहरूमा विराटनगरमा नयाँ होटल थपिएसँगै प्रतिस्पर्धा तीव्र भएको छ । ग्राहकको अपेक्षा पनि तीव्र बदलिएकाले थप लगानीमा रेनोभेसन सुरु गरिएको बताए । उनले भने–‘सेवा मात्रै होइन, सम्पूर्ण आतिथ्य अनुभवलाई नयाँ स्तरमा पु-याउने लक्ष्यका साथ होटललाई रूपान्तरण गरिरहेका छौं ।’ 

एकल लगानीमा ८० करोडको परियोजना

होटल व्यवसायी भरतबहादुर खत्रीको एकल लगानीमा सञ्चालित बिग होटल विराटनगरकै निजी क्षेत्रको ठूलो होटल परियोजनामध्ये एक हो । समयसँगै सुविधा विस्तार, सेवा स्तरोन्नति र पूर्वाधार विकासमा गरिएको थप लगानीले परियोजनाको आकार ८० करोड रुपैयाँभन्दा बढी पुगेको  छ ।  

विग होटलमा तीनवटा सुइट, १० वटा सुपर डिलक्स तथा बाँकी डिलक्स श्रेणीका गरी ६८ वटा कोठा छन् । आधुनिक डिजाइन, फराकिलो कोठा, सुविधासम्पन्न बाथरुम तथा शान्त वातावरण होटलका विशेषता हुन् ।

बसोबाससँगै मनोरञ्जन र स्वास्थ्यसम्बन्धी सुविधा पनि एउटै परिसरमा उपलब्ध छन् । करिब १०० जनाको क्षमताको मिनी क्यासिनो, स्विमिङ पुल, जिम, साउना, स्पा, कफी सप तथा विमानस्थलसम्म निःशुल्क पिकअप–ड्रप सेवा होटलका प्रमुख आकर्षण रहेका छन् ।  होटलमा बस्ने पाहुनाले स्विमिङ पुल निःशुल्क प्रयोग गर्न पाउँछन् । विशेषगरी सीमावर्ती भारतीय पाहुनामाझ मिनी क्यासिनो लोकप्रिय बन्दै गएको व्यवस्थापनको दाबी छ ।

कर्पोरेट क्षेत्रको पहिलो रोजाइ

विराटनगर औद्योगिक सहर भएकाले बिग होटलको मुख्य ग्राहक वर्ग पनि कर्पोरेट क्षेत्र नै रहने गरेको छ । उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लगायतका बैठक, तालिम, गोष्ठी र सम्मेलन नियमित रूपमा यही होटलमा आयोजना हुने गरेका छन् ।

अनुकूल मौसममा होटलको अकुपेन्सी ८० प्रतिशतसम्म पुग्ने गरेको होटल व्यवस्थापन पक्ष बताउँछ । अफ सिजनमा केही कमी देखिए पनि सिजनमा माग धान्न कठिन हुने गरेको छ ।

विराटनगरको मुख्य बजार क्षेत्रमा पार्किङ ठूलो चुनौती बन्दै गइरहेका बेला बिग होटलको फराकिलो पार्किङ क्षेत्र यो होटल धेरैको रोजाइमा पर्ने गरेको होटलका प्रवन्धक भट्ट बताउछन् । 

उनका अनुसार बिग होटल मुख्य बजारबाट नजिक मात्रै छैन, औद्योगिक क्षेत्र तथा विराटनगर विमानस्थलसँगको सहज पहुँचका कारण कर्पोरेट तथा व्यवसायिक ग्राहकको रोजाइमा होटल गर्ने गरेको छ । होटलमा आउने पाहुनालाई एयरपोर्टसम्मै लिन जाने गरिएको भट्ट बताउछन् । 

६५ जनालाई रोजगारी

एकदशकको विरासत बोकेको यो होटलले धेरैलाई रोजगारी पनि दिएको छ । होटलले हाल प्रत्यक्ष रूपमा करिब ६५ जनालाई रोजगारी दिएको प्रवन्धक भट्ट बताउछन् । ‘सुरक्षा तथा अन्य आउटसोर्सिङ सेवा जोड्दा यो संख्या अझ बढ्ने गरेको छ । अधिकांश कर्मचारीलाई आफ्नै तालिम प्रणालीमार्फत दक्ष बनाइएको छ, जसले सेवाको गुणस्तर र स्थायित्वमा योगदान पु-याएको छ,’ उनले भने ।

सीमावर्ती सहर भएकाले भारतीय पर्यटक आकर्षित गर्ने सम्भावना उच्च भए पनि केही नीतिगत व्यवस्थाले पर्यटन व्यवसाय प्रभावित भएको बिग होटल व्यवस्थापन पक्षको भनाइ छ ।

हाल भारतीय नागरिकले ३५ हजार रुपैयाँभन्दा बढी भारतीय मुद्रा बोकेर नेपाल आउन नपाउने व्यवस्था, सीमामा हुने झन्झटिलो जाँच, भारतीय नम्बर प्लेटका सवारीसाधन प्रवेश प्रक्रिया तथा भारतीय डिजिटल भुक्तानी प्रणाली सहज रूपमा सञ्चालन हुन नसक्दा खर्च गर्ने क्षमता भएका भारतीय पर्यटक निरुत्साहित भएको प्रबन्धक भट्ट बताउँछन् ।

उनका अनुसार नेपाली अर्थतन्त्रमा मन्दी छाइरहेको बेला सीमामा पर्यटकमैत्री नीति अपनाउन सके विराटनगरको होटल तथा पर्यटन उद्योगले ठूलो फड्को मार्न सक्छ ।

राजनीतिको केन्द्र पनि

बिग होटल राजनीतिको केन्द्रका रुपमा पनि पर्ने गरेको छ । खासगरी प्रदेश सरकार गठनका क्रममा हुने बैठकदेखि विभिन्न दलका रणनीतिक छलफलसम्म होटलका सभाहल प्रयोग हुने गरेका छन् ।

 यही कारण होटललाई कतिपयले अनौपचारिक रूपमा कोशी प्रदेशको राजनीतिक भेटघाटको केन्द्रका रूपमा पनि चिन्ने गरेका छन् । तर व्यवस्थापनका अनुसार होटलको प्राथमिकता भने गुणस्तरीय सेवा विस्तार र पूर्वी नेपालको उत्कृष्ट व्यवसायिक होटलका रूपमा आफ्नो पहिचान थप सुदृढ बनाउनु रहेको सञ्चालकहरुको भनाई छ । आफुहरुले त्यही अनुसार योजना बनाएर अघि बढाइएको सञ्चालकहरुको भनाई छ  ।