काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार विभिन्न कार्यक्रमसहित मनाइएको छ। कार्यक्रममा नेपालस्थित भारतीय समुदाय, दूतावासका कर्मचारी तथा उनीहरूका परिवारको उत्साहजनक सहभागिता रहेको थियो।

समारोहको सुरुवात ‘वन्दे मातरम्’को गायनबाट गरिएको थियो। त्यसपछि नेपालका लागि भारतीय राजदूतले राष्ट्रिय झण्डा फहराउनुभएको थियो। सो अवसरमा भारतको राष्ट्रिय गानसमेत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले ८०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिनुभएको सम्बोधनसमेत प्रसारण गरिएको थियो।
समारोहका अवसरमा भारतीय सशस्त्र सेनामा सेवा गर्दागर्दै मृत्यु भएका ११ जना सैनिकका विधवा तथा निकटतम हकदारलाई भारतीय राजदूतले सम्मान गर्नुभयो। उनीहरूलाई कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरको आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (एजीआईएफ) को चेक हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।

त्यस्तै, स्वतन्त्रता दिवसको अवसरमा दूतावासले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई पनि सम्मान गरिएको छ। ‘विकसित भारत’ विषयमा आयोजित चित्रकला प्रतियोगिता, ‘विकसित भारत रन’ तथा अन्तरविद्यालय क्विज प्रतियोगिताका विजेतालाई सम्मान गरिएको हो। ‘भारत को जानिए’ क्विजको विशेष संस्करणका विजेतालाई समेत सम्मान गरिएको थियो।
दूतावासले नेपालका सातै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयका लागि पुस्तक अनुदान उपलब्ध गराउने घोषणा गरेको छ। शैक्षिक स्रोतसाधनमा पहुँच विस्तार गर्ने उद्देश्यले उक्त पहल गरिएको दूतावासले जनाएको छ।

समारोहमा दूतावासअन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति र देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए।

