३१ श्रावण २०८३, आइतबार 1786880867
समाचार

जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा खसेको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । अझै दुईजना बेपत्ता छन् । उनीहरूको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

शनिबार साँझ करिब ५ः३० बजे खसेको उक्त पहिरोमा परी सोही ठाउँका ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की गरी सातजना घाइते भएका छन् ।

घाइतेमध्ये रामबहादुर र भद्रकलाको अवस्था गम्भीर छ । थप उपचारका निम्ति उनीहरूलाई नेपालगन्ज र सुर्खेततर्फ पठाइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । पहिरोमा परी भेरी–२, साल्धाराका ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको छ ।

भेरी–२, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक अझै बेपत्ता छन् । विक पहिरोपश्चात् घरबाट निस्किएकामा सम्पर्कविहीन भएका हुन् । उक्त पहिरोमा परी सोही ठाउँका आठ घरमा क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।